गर्भवती महिलाको हेलिकप्पटरबाट उद्धार
- १५ मंसिर २०८०, शुक्रबार
- 461 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीया किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो ।
हिजो दिउँसो बच्चा जन्माउन नसकेपछि बच्चा र आमाको अवस्था जटिल देखिएपछि दग्नाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीलाई खबर गरेका थिए ।
शाहीले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा खवर गरेपछि मन्त्रालयले एयर लिफ्ट कार्यक्रम मार्फत एयर डाइनेष्टिको हेलिकप्टर गाउँमा पठाएर गर्भवती महिलाको उद्धार गरेको हो । हेलिकप्टर मार्फत पोखराको गण्डकी क्षेत्रीय अस्पतालमा लगेर गर्बुजालाई शल्यक्रिया मार्फत प्रसुति गराइएको छ ।
रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख शाहीले समयमै उद्दार गरेर बच्चा र आमाको ज्यान बचाउन सफल भएको बताउनुभयो । दुई किलोग्राम तौल भएको बच्चालाई एनआइसियुमा राखेर उपचार भैरहेको र आमाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।