पर्यटकीय गन्तव्य बन्दै केभहिल (फोटो फिचर)

  • १४ मंसिर २०८०, बिहीबार
  • कमल खत्री
  • 243 पटक पढिएको

कमल खत्री
बेनी, १४ मंसिर । धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडो । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्न थालेको छ । बेनी नगरपालिका–५ गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाईमा पर्न थालेको छ । बेनी नगरपालिका–५ गाजने र बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित केभहिल क्षेत्रमा अहिले आन्तरिक पर्यटकहरुको आगमन बढेको छ ।
बेनीदेखि पुलाचौर हुँदै गाजनेसम्म सडकको पहुँच पुगेको छ भने बेनी–पुलाश्रम–घतानकोट–ढोलठान हुँदै केभहिल र तोरीपानीबाट पैदलमार्ग हुँदै आन्तरिक पर्यटकहरु केभहिल क्षेत्रमा पुग्ने गर्छन् । केभहिलमा बेनी नगरपालिकाले भ्यू टावर, पदमार्ग लगायतका पूर्वाधार निर्माण गरेपछि पर्यटकहरुको आगमन बढेको स्थानीयबासी बताउँछन् । पहिले गुफाको डाँडाको नामले चिनिने यस क्षेत्रलाई पर्यटक आकर्षित गर्न केभहिलको नामले चिनाउन थालिएको र पर्यटन प्रवद्र्धन अभियानले पर्यटकहरुको चहलपहल बढ्दो क्रममा रहेको छ । गाजने, पुलाश्रम र तोरिपानी क्षेत्र भएर केभहिलको भ्रमणमा जानेहरु बढेको तोरिपानीका स्थानीय सागर बानियाँले बताउनुभयो ।
‘‘ पहिले खासै चर्चामा थिएन, अहिले यस क्षेत्रको प्रचार प्रसार र पर्यटन पूर्वाधारहरु बन्नेक्रम बढेपछि आन्तरिक पर्यटकहरु बढेका छन्, शनिवार र विदाको समयमा त यस क्षेत्रमा घुम्न आउनेहरुको लर्को नै लाग्ने गर्छ’’–उहाँले भन्नुभयो । यहाँबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालहरुको अवलोकन गर्न सकिन्छ । प्राकृतिक रुपमै भ्यू पोइन्टको आकारमा समुद्री सतहदेखि २ हजार २०० मिटरको उचाईमा रहेको केभहिलको पहाडबाट गुर्जा, धौलागिरि, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ«े लगायतका हिमालहरुको एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।
पहाडको थुम्कोबाट मनोरम हिमशृङ्खला र भू–वनोटको अवलोकन गर्न पाउँदा मन प्रफुल्लित भएको केभहिलमा पुग्नुभएका बेनीका संगीता पौडेलले बताउनुभयो । ‘‘ ठाउँ अत्यन्तै रमाईलो रहेछ, म्याग्दीका धेरैजसो गाउँ ठाउँसमेत देख्न सकिने, हिमालहरु आँखै अगाडी उभिएजस्तो देखिने रहेछन्, पैदल र मोटरबाटो सजिलो भैदिए धेरै जना यहाँ आउन पाउने थिए’’–उहाँले भन्नुभयो । केभहिल, डढेकोट र भुमेथानबाट हिमालका चुचुरा, वन जंगल, नदिनाला, विविधतायुक्त ग्रामिण भुगोल र वेशीँका तरेली परेका फाँटहरुको मनमोहक दृष्यहरु अवलोकन गर्न पाउनु यहाँ पुग्ने पर्यटकहरुको लागी प्रमुख आकर्षणको रुपमा रहेका छन् ।
पर्यटकीय संगै धार्मिक र ऐतिहासिक महत्वका हिसाबले समेत गाजने क्षेत्र सम्भावनायुक्त मानिन्छ । तत्कालिन बाईसे–चौबिसे राजाहरुको पालामा तत्कालिन पर्वत राज्यका तृतीय मल्लराजा दिलिपबमले डढेकोटमा दरबार बनाएर शासन सञ्चालन गरेको इतिहासहरुमा उल्लेख छ । गाजनेमा दिलिपबम मल्लले वि.स. १५५०–६० को समयमा जगन्नाथ मन्दिर समेत निर्माण गरि नृत्य पुजाआजा गर्न सुरु गरेको मन्दिर समेत रहेकाले यस क्षेत्र पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्वले भरिपूर्ण रहेको गाजनेका स्थानीय अगुवा नीलकण्ठ शर्माले बताउनुभयो ।
यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भ्यु टावर निर्माण, ऐतिहासिक जगन्नाथ मन्दिरको पुननिर्माण, पदमार्ग निर्माण लगायतका कार्यहरुले सहयोगी भूमिका खेलेको छ । २०६९ सालमा मंसिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनर्निर्माण भएको छ । महायज्ञबाट सङ्कलित एक करोड आठलाख रुपैयाँको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव समेत रहुनभएका स्थानीय अगुवा निलकण्ठ शर्माले जानकारी दिनुभयो ।

मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ । डढेकोटमा तत्कालिन राजाले बनाएको दरबार भग्नावशेषको रुपमा रहेको छ । यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यहरुको विकासको लागि पूर्वाधार निर्माण र प्रचार प्रसारको लागि पहल गरिएको बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाँले बताउनुभयो । उहाँले नगरपालिकाबाट केभहिलमा भ्यू टावर निर्माण गरिएको र त्यसलाई थप सुधार गरेर सुरक्षित बनाउन आबश्यक रहेको बताउनुभयो ।
गाजनेदेखि डढेकोट सम्म पदमार्ग निर्माण भएको छ । पुलाचौरदेखि नयाँगाउँ हुँदै जगन्नाथ सम्म सडकको पुहँच पुगेको छ । यो सडकलाई स्तरोन्नती गरि नियमित रुपमा सहज तरिकाले सवारी आवत जावत गर्ने बनाउनका लागि नगरपालिका र प्रदेश सरकारमा पहल गरिएको छ । बेनीदेखि पदमार्गले समेत जोडिएको यो क्षेत्रलाई व्यवस्थित पदमार्ग बनाउन बेनी–अर्थुङ्गे–पुलाश्रम–घतानकोट–ढोलठान–केभहिल–डढेकोट हुँदै पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग निर्माण गर्न सकेमा यो क्षेत्रको पर्यटन विकासले थप सार्थकता पाउने वडा अध्यक्ष बानियाँको भनाई छ । यस क्षेत्रमा जाने पर्यटकहरुलाई लक्षित गरेर गाजनेमा होमस्टे र सरिबोटको फाँटमा होटल सञ्चालन गर्ने स्थानीयबासीले तयारी गरेका छन् ।           

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l