ब्यवसायिक कृषि खेतीमा पात्लेखेतका हरि गर्वुजा

  • ७ मंसिर २०८०, बिहीबार
  • 265 पटक पढिएको

 

म्याग्दी, ७ मंसिर । मंगलबार मध्यान्ह बेनीको न्युरोडमा आफ्नो मोटरसाईकलको पछाडी दुई क्रेड टमाटर बोकेर विक्रीका लागि लैजादै गरेको अवस्थामा भेटिए पात्लेखेतका युवा हरि गर्वुजा । हस्पिटलचोकमा संचालनमा रहेको लामा कुदापमा एक क्रेड छोडेर गर्वुजा अर्को क्रेड टमाटर बोकेर तातोपानीको श्रेष्ठ होटल हटस्प्रीङ पुगे ।

गर्वुजाको दैनिकी अचेल विहानै उठेर टमाटर टिप्ने र दिउसो अर्डर अनुसारको ठाउँमा पुर्‍याउने गर्दै चलेको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्वर १० पात्लेखेतका ३६ बर्षीय गर्वुजाले आफ्नै करिव ५० हजारको लगानीमा निर्माण गरेका दुईवटा टनेलमा अहिले लटरम्मै टमाटर फलेका छन ।

हाल काठमाडौँमा बसोबास गर्नुहुने धु्रव भट्टचनको करिव १५ रोपनी खेतियोग्य जमिन १० बर्षका लागि भाडामा लिनुभएका गर्वुजाले गत भदौँमा २ क्वीन्टल खुर्सानी उत्पादन गरि विक्री गर्नुभएको थियो ।

बैदेशिक रोजगारीका लागि १० बर्ष अघि अफगानिस्तान पुगेका गर्वुजा स्वास्थ्यमा समस्या देखिएपछि ८ महिनामै घर फकिर्नुभएको थियो । ८ महिनाको विदेश बसाईमा धेरै दुखहरु भोगेपछि गर्वुजाले आफ्नै गाउँमा व्यवसाय गरि वस्ने सोच बनाई पोल्टी फर्म संचालन गर्नुभएको थियो ।
त्यसपछि पात्लेखेतमै लप्सन एण्ड दिप्सन फनिर्चर उद्योग संचालन गरेका गर्वुजाले फर्निचरबाट राम्रो आम्दानी हुन थालेपछि त्यसैबाट आएको कमाईले कृषितर्फ पनि लगानी गरि उत्पादन थालेको बताउनुभयो । हाल उहाँले संचालन गरेको फर्निचरमा दुईजनाले रोजगारी समेत पाएका छन ।

खुर्सानी बेचीसकेँ, अहिले टमाटर विक्री गरिरहेको छु, अव पौषमा विक्री गर्ने गरि लोकल आलु पनि लगाएको छु, गर्वुजाले भन्नुभयो, कृषि खेतीबाट मात्रै वार्षिक रुपमा दुई लाख आम्दानी हुन्छ । गर्वुजाले टमाटर होलसेलमा १०० रुपैयाँ किलो विक्री गर्नुभएको छ । पसलहरुमा भन्दा पनि होटलहरुलाई कन्ट्याक गरि टमाटर पुर्‍याएको छु, उहाँले भन्नुभयो ।

कृषि उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि फर्म नै दर्ता गरि टनेल थप गर्ने तथा अन्य खेतीहरु पनि विस्तार गर्ने योजना बनाउनुभएका गर्वुजा आफुले संचालन गरेका व्यवसायहरुबाट सन्तुष्ट हुनुहुन्छ ।

अहिले कम लगानीबाट कम उत्पादन र कम आम्दानी छ, पछि लगानी बढाउँदै जादा उत्पादन र आम्दानी पनि बृद्धि हुँदै जाला, गर्वुजाले भन्नुभयो । युवा उद्यमी गर्वुजाले माटोमा गरेको मेहनत र लगानीले भोको बस्न नपर्ने भन्दै युवाहरुलाई उद्यमशिल बनाउनका लागि स्थानीय सरकारले पनि विशेष चासो दिन आग्रह गर्नुभयो ।