गाउँपालिका र अनसनकर्ता गुरुङ विचको छलफल निष्कर्षविहिन

  • ७ मंसिर २०८०, बिहीबार
  • 221 पटक पढिएको

 

म्याग्दी, ७ मंसिर। रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि र चारदिनदेखि अनसनरत रमेश गुरुङविचको छलफल निष्कर्षविहिन भएको छ । विहिबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितमा रोजगार र अस्पतालको माग गर्दै चार दिनदेखि कार्यालय परिसरमा अनसनरत रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा गुरुङविच भएको छलफल निष्कर्षविहिन बनेको हो ।

मागपत्रमा गाउँपालिकाको आधारभूत अस्पताल गाउँपालिकाको सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको केन्द्र रहेकै वडाको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर बनाउनुपर्ने र गाउँपालिकाभित्र निर्माणधिन जलविद्युत आयोजनाहरुमा गाउँपालिकाका बेरोजगार युवायुवतिलाई तालिम प्रदान गरेर रोजगारको व्यवस्था गर्न माग गर्दै मंसिर ४ गतेदेखि गुरुङ अनसन बस्नुभएको थियो ।

विहिवार गाउँपालिका अध्यक्ष भण्डारीले अस्पतालको सम्वन्धमा यस अघि नै केन्द्रबाट स्थान तोकेर आएको बेग सहित पिप्लेमा समेत थप अस्पताल बनाउने गरि आफुहरुले निर्णय गरेर केन्द्रमा पठाएको बताउँदै यस सम्बन्धी पहल भईरहेको बताउनुभयो । उहाँले निरन्तर प्रदेश र संघसंग समन्वय गरेर टुग्याउने प्रतिवद्धता जनाउनुभएको थियो । गाउँपालिकाले वेरोजगार युवाहरुलाई हातेट्याक्टर मर्मत, ड्राईभिङ, सिलाईकटाई लगायतको शिपमुलक तालिमहरु प्रदान गर्दै आएको र आगामी दिनहरुमा पनि पालिकाले रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै अनसनरत गुरुङलाई अनसन तोड्न आग्रह गर्नुभयो ।

अध्यक्ष भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, प्रवक्ता एवम् वडानम्वर ६ का वडाअध्यक्ष मनकुमार शेरपुञ्जा, वडानम्वर १, ३ र ८ का अध्यक्षहरु क्रमश: विलबहादुर फगामी, खिमबहादुर शाही र गमान छन्त्यालसहितको टोलीले अनसनरत गुरुङसंग वार्ता गर्नुभएको थियो । दुबै पक्षबिच भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि गुरुङले आफ्नो अनसनलाई निरन्तरता दिनुभएको छ ।

संघीय सरकारले तीन बर्ष अघि हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना रघुगंगा गाउँपालिकामा अहिलेसम्म पनि अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको हो ।

जनचासो र गाउँपालिकाको महत्वपूर्ण बिषयलाई जनप्रतिनिधिले वेवास्ता गरेको र जनतालाई धोका दिने काम भएपछि आमरण अनसन बस्नुपरेको गुरुङले बताउनुभयो । उहाँले आफ्नो माग सम्बोधन नभएसम्म गाउँपालिका कार्यालय परिसरमै आफ्नो अनसनलाई नतोड्ने बताउनुभयो ।

संघीय सरकारले ०७७ मंसिर १५ मा देशभरका तीन सय ९३ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । रघुगंगामा अस्पतालको शिलान्यास समेत भएको छैन् । योजना घोषणा गर्दा मन्त्रालयलले वडा नम्बर १ बेगखोला स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने भनेपनि तत्कालिन अवस्थामा तोकिएको साढे ९ रोपनी जग्गाको निशूल्क व्यवस्थापन गर्नुपर्ने मापदण्ड पुरा गर्न कठिन हुने, तत्कालिन बेगखोला स्वास्थ्य चौकीको भवन पुननिर्माणका लागि अर्को ठेक्का लगाइएको, र पालिकाका बहुसंख्यक नागरिकलाई अपायक पर्ने भन्दै कार्यपालिका बैठकबाट पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने निर्णय भएको थियो ।

पछि बेगका स्थानीयबासीको विरोध भएपछि गाउँपालिकाले पुन: बेगमै अस्पताल बनाउने निर्णय गरेको थियो । अर्कोतर्फ गाउँपालिकाले थप अर्को अस्पतालको योजना समेत माग गरेपछि रघुगंगामा अस्पताल ‘सेतो हात्ती’ बन्ने जोखिम बढेको छ । मन्त्रालयबाट तोकिएर आएको बेगको अस्पताल योजना कायमै राखेर पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि १० शय्याको अर्को अस्पताल बनाउनका लागि कार्यपालिका बैठकबाट निर्णय गरि सम्बन्धित मन्त्रालयमा पठाईएको भएपनि अहिलेसम्म कुनै पनि ठाउँमा अस्पताल बनाउने योजनाको काम अघि बढेको छैन् ।