विकासको नमुना उदाहरण : ‘श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण’ (फोटो फिचर)

  • ७ मंसिर २०८०, बिहीबार
  • कमल खत्री
  • 437 पटक पढिएको

कमल खत्री
बेनी, ७ मंसिर : घना जंगलको साँघुरो बाटो । गाउँदेखि मुल सडकमा ओहोर दोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवंगत भएका व्यक्तिहरुलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउँन थियो । म्याग्दीको रघुगंगा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जिर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ । बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जिर्ण बाटो चिटिक्क र सहज बन्न थालेको हो ।
गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो । नेकपा माओवादी केन्द्रको वडा कमिटीले सुरु गरेको श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयबासी श्रमदानमा जुटेका छन भने प्रवासीहरुले मन खोलेर सहयोग गर्ने क्रम जारी छ । एक÷एक ट्याक्टर बालुवा, गिटी र २० बोरा सिमेन्ट बाट सुरुवात भएको पदमार्ग बनाउने अभियानमा अहिलेसम्म रु १३ लाख बढी नगद सहयोग जुटीसकेको पदमार्ग निर्माणका अभियान्ता समेत रहनुभएका नेकपा माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो ।
‘‘सरकारी तवरबाट बजेट परेर वाटो मर्मत गर्ने प्रयासहरुले सार्थकता नपाएपछि हामीले श्रमदान अभियानबाट केहि अप्ठ्ेरो ठाउँमा पक्की पदमार्ग बनाउने उदेश्यले श्रमदान अभियान चलाएका थियौँ, अभियान सञ्चालन भएकै भोलिपल्टदेखि स्वतस्फुर्त श्रमदानमा सहभागी हुने र आर्थिक सहयोग गर्नेहरु पनि हातेमालो गर्न थालेपछि पदमार्ग बनाउने अभियानलाई सबैको साझा अभियानको रुपमा अगाडी बढायौँ, देश तथा विदेशमा रहनुभएका धेरै जनाले सहयोग गर्नुभएको छ’’– कटुवालले भन्नुभयो । पदामार्ग निर्माण योजना अहिले सबैको साझा अभियान बनेको छ । यो योजनालाई सरकारी तवरको कुनै बजेट विनै समुदायको साथ, सहयोग र सहकार्यको नमुना कार्यको रुपमा स्थानीयले पूर्णता दिने जमर्को गरेका छन् ।
पदमार्ग बनाउन स्थानीयबासीले १ दिनदेखि २० दिनसम्म श्रमदान गरेका छन् भने अहिलेसम्म एक किलोमिटर पक्की पदमार्ग निर्माण भैसकेको छ । माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ । विहानदेखि साँझ सम्म नै पदमार्ग बनाउने काम भैरहेको छ । सडकबाट गीटि बालुवा र सिमेन्ट उकालो र जंगलको बाटोमा बोकेर स्थानीय युवाहरु पदमार्ग बनाउन व्यस्त बनेका छन् । दसैँ र तिहारको केहि दिन बाहेक अन्य सबै दिनहरुमा स्थानीय युवाहरु पदमार्ग बनाउने काममै लागेका छन् । भगवतीका विभिन्न बस्तीका सहयोगदाताहरुले आफ्नो दिवंगत आफन्तको सम्झनामा पदमार्ग बनाउन स्वतस्फुर्त सहयोग गर्ने क्रम जारी रहेको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताउनुभयो ।
‘‘सुरुमा श्रमदान बाटै पदमार्ग बनाउन थाल्यौँ, अहिले विभिन्न व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ, अभियानमा जुटेको सहयोगबाट थप पदमार्ग बनाउन जनशक्ति पनि थप गरेका छौँ, हामी यहाँ ढलान गरेर बनाएका हरेक सिँढीमा हाम्रो पसिनाले सिंचित गर्न चाहन्छौँ, सबैको साथ, सहयोग, सहकार्य र समर्पणको भावनाले यो पदमार्गले पूर्णता पाउने निश्चित भएको छ’’–केसीे भन्नुभयो ।
पदमार्ग बनाउन श्रमदान गर्ने युवाहरुसंगै संकलित सहयोग रकमबाट ज्याला दिने गरि श्रमीक समेत परिचालन गरिएको छ । पदमार्ग निर्माणलाई गति दिन जंगलमै पाल टाँगेर बास बस्ने प्रवन्ध मिलाईएको छ । अहिले दैनिक रुपमा १५ जनालाई ज्याला नै दिने गरि पदमार्ग निर्माणमा परिचानल गरिएको छ । ज्यालामा काम गर्नेहरुसंगै श्रमदान गर्नेहरु पनि दैनिक रुपमा पदमार्ग निर्माणमा जुट्ने गरेको स्थानीय युवा हिमाल कटुवालले बताउनुभयो । भिरालो पाखोमा बनाईएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लीएर लड्ने समस्या रहेकोमा पदमार्ग निर्माण भएपछि स्थानीयबासीलाई सहज हुने उहाँको भनाई छ । मंसिर महिनाभित्रमा कुनौटादेखि च्युरीबास खण्डमा चिटिक्कको पक्की पदमार्ग निर्माण गर्ने अभियानको लक्ष्य रहेको छ । सुरुवातमा श्रमदानबाट मात्रै केहि पदमार्ग बनाउने गरि काम सुरु भएपनि काम सुरु भएपछि देश तथा विदेशमा रहेका भगवतीबासीले मन खोलेर सहयोग गर्न थालेकाले पदमार्ग निर्माण योजनालाई निरन्तर अगाडी बढाईएको स्थानीय युवा डेकबहादुर कार्कीले बताउनुभयो ।
जंगलमा झाडी फडानी गरेर ढुंगा, सिमेन्ट, बालुवा र गिटीको बन्दोबस्त मिलाएर पदमार्गलाई ढलान नै गरेर पक्की बनाईएको छ । आवत जावत गर्न सहज हुने गरि पदमार्गलाई साढे १ मिटर फराकिलो बनाइएको छ । पदमार्गमा २२ दिनदेखि काम गरिरहनुभएका स्थानीय ५६ बर्षिय प्रेमबहादुर कटुवालले पुन्य काममा सहभागी भएको अनुभुति हुने गरेको अनुभव सुनाउनुभयो । ‘‘ हामीले काम त घरमा बसेपनि गछौँ, तर यहाँ आएर पदमार्गमा पसिना बगाउँदा छुट्टै आनन्दको सन्तोष मिलेको छ, विगतमा गाउँबाट दिवंगत भएका व्यक्तिहरुको अन्तिम संस्कारका लागि घाट जान पनि निकै कष्टकर थियो, साँच्चीकै हामीलाई स्वर्ग जाने बाटो बनाउन आए जस्तै आनन्दको महसुस भएको छ’’– उहाँले भन्नुभयो । रासस        

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l