तनहुँको लोचाडाँडा कृषि पर्यटन सडकको स्तरोन्नती 

  • ३ मंसिर २०८०, आईतवार
  • धिरन खत्री
  • 233 पटक पढिएको

 

म्याग्दी, ३ मंसिर । तनहुँको ब्यास नगरपालिकाबाट म्याग्दे गाउँपालिका हुँदै भिमाद जाने सडकको स्तरोन्नतीको काम सकिएको छ। ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित तीन किलोमिटर ‘लोचाडाँडा कृषि पर्यटन’ सडकको स्तरोन्नतीको काम तोकिएको समयअघि नै सकिएको हो ।

विसं २०८० फागुन ११ गतेसम्म सक्नुपर्ने सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले तीन किलोमिटर सडकको स्तरोन्नतीको काम ८ महिनामै (तिहार अगाडी नै) सकेको पूर्वाधार विकास कार्यालय तनहुँका सवईन्जिनियर होमनाथ गौतमले जानकारी दिनुभयो ।

उहाँले तीन किलोमिटर सडक पराकिलो बनाउने र ग्रेड मिलाउने कामसंगै एक हजार तीन सय मिटर कालोपत्रे र दुईसय मिटर सडक ढलानको काम सक्नुपर्ने मिति अघिनै सम्पन्न भएको बताउनुभयो । ब्यास नगरपालिकाबाट म्याग्दे गाउँपालिका हुदै भिमाद नगरपालिका जाने सडक हो ।

काममा तीव्रता दिएका कारण सम्झौता अगावै गत कात्तिक महिनामा कालोपत्रे सकिएको निर्माण कम्पनीका संचालक सुवासचन्द्र कार्कीले जानकारी दिनुभयो। ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र आवश्यक मजदुर परिचालन गरी साँघुरो सडकलाई फराकिलो बनाउने, सडकका तलमाथि ग्याबिङसहित पर्खाल, नालीलगायतका ढलान र कालोपत्रेको काम सम्पन्न गरेको बताउनुभयो ।

मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालय तनहुँबीच विसं २०७९ फागुन ११ गते ४ करोड ४३ लाख ४० हजार ५२८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

उक्त मार्गले तीन पालिकाका स्थानीय लाभान्वित हुने छन्। उक्त मार्गमा स–साना मर्मतबाहेक निर्माण कम्पनीले मुख्य कार्य सम्पन्न गरिसकेको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ। पूरा भएको उक्त योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र अन्ति भुक्तानी दिन बाँकी रहेको सवइन्जिनियर गौतमले बताउनुभयो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले योजनाको निर्माण प्रक्रिया अघि बढाएको थियो । यस मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले तनहुँको ब्यास नगरपालिका–११ मा सञ्चालित ‘बाराही–रानीमार्ग’ सडकको १ हजार ७ सय मिटर प्रिमिक्स किसिमको कालोपत्रे काम ८ महिनामै सकेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l