मालढुंगा–बेनी सडक आयोजना अलपत्र

  • २५ कार्तिक २०८०, शनिबार
  • 193 पटक पढिएको

 

म्याग्दी, २५ कात्तिक । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो ।

दसैं अघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालिगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइट इन्चार्ज अच्युत विलास पन्तले जानकारी दिए । सम्झौता अवधि नाघिसक्दा समेत जम्मा ४२ प्रतिशतमात्र प्रगति भएको उक्त सडक खण्ड निर्माण सामग्री अभावले ठप्प बनेको हो ।

सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौं सवारीसाधन र हजारौं यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर आयोजनाअतर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् १३ किलोमिटर दूरीको मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

३० महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४२ प्रतिशतमात्र काम भएको छ । कालिगण्डकी करिडोर आयोजना जोमसोमका इन्जिनियर तथा साइट इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुंगा–बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार ०८० पुससम्म म्याद थप भएको बताउँदै सडक निर्माणका क्रममा विभिन्न बाधा अवरोध सिर्जना भएकाले ढिला भएको बताए ।

थप गरिएको अवधिसमेत अब दुई महिनामात्र बाँकी छ । गत वर्ष नै सम्पन्न हुनुपर्ने सडक भए पनि ठेक्का सम्झौताअुनसार निर्माण सामग्री प्रयोग गर्न नपाएपछि ढिलाइ भएको हो । ठेक्का सम्झौतामा नजिकै रहेको कालिगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन् गरेर सडक निर्माणमा प्रयोग गर्ने उल्लेख भए पनि निर्माण कम्पनीलाई नदीजन्य वस्तु उत्खनन् गर्न नदिइएपछि समयमै काम सम्पन्न हुन नसकेको हो ।

सामग्री अभावले निर्माण कम्पनीले एक वर्षदेखि काम गर्न सकेको छैन । गत माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भएको भए पनि फेरि दसैंदेखि ठप्प बनेको इन्जिनियर पन्तले बताए । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्री अभावमा रोकिएको हो ।

१३ किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ । सडकमा रहेका ठूलाठूला खाडल, हिलो र ढुंगा तथा पहिरोका कारण जोखिमपूर्ण बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधन हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेका छन् । मालढुंगादेखि बेनीसम्मको १३ किलोमिटर पार गर्न घण्टौं समय लाग्ने गरेको छ ।

निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटकपटक बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्री व्यवस्थापन गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि निर्माणकार्यले गति लिन नसकेको हो । सडक निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि रोक्नुपरेका एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए ।

सडकको धेरै ठाउँमा सबबेस र बेस बिच्छाउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चा पर्दाथ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नु परेको दाहालले दाबी गरे । कालिगण्डकी धार्मिक नदी पनि हो । यहाँ शालिग्राम पाइने भएकाले जथाभावी उत्खनन् हुँदा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुंगागिट्टी उत्खनन्का लागि ठेक्का लगाउन सकेका छैनन् ।

सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशअनुसार कालिगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लागेको छ । कम्पनीले गएको माघ १७ मा सबै सरकारी निकायलाई विपक्षी बनाएर निर्माण सामग्री व्यवस्थापनका विषयमा सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले पुरानो मुद्दा कायम रहेकाले नयाँ आदेश नदिएपछि निर्माण कम्पनी काम छाडेर हिँड्न बाध्य भएको व्यवसायी दहालको दाबी छ । सर्वोच्चको आदेशपछि पनि लुकिछिपी उत्खनन् गर्ने क्रम भने बढ्दै गएको छ ।