भूतपूर्व सैनिक सहकारीको नयाँ नेतृत्व चयन, अध्यक्षमा झलप्रसाद गौचन (तस्बिर)

  • २४ कार्तिक २०८०, शुक्रबार
  • 265 पटक पढिएको

म्याग्दी, २४ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार सम्पन्न १८ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट क्याप्टेन झलप्रसाद गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ, सचिबमा हिराप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कल्पना पाध्या रेग्मी चयन हुनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा कमला केसी, मिनाकुमारी मल्ल, रामप्रसाद सुवेदी, रामबहादुर पौडेल, दलबहादुर भण्डारी, रत्नकुमारी कार्की र तिलक प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनबाट रेशमबहादुर छन्त्याल संयोजक तथा सुदिप घिमिरे र अमृत शर्मा सदस्य रहनुभएको लेखा सुपरिवेक्षन समिति समेत चयन भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन) का महासचिब दामोदर अधिकारीले सहकारी संस्थाहरुमा चरम संकट देखिएको अवस्थामा भूतपूर्व सैनिक सहकारीले आफुलाई सफल सहकारीहरुको सूचिमा कायम राख्न सक्नु सकरात्मक पक्ष रहेको बताउनुभयो । उहाँले कुसल व्यवस्थापन र नेतृत्वका साथ सहकारीका सिद्धान्त र मार्गदर्शनलाई पालना गरेर सञ्चालन गरेका सहकारीहरुमा अहिले गम्भिर संकट नरहेको बताउँदै सञ्चालक र शेयर सदस्यहरुको भूमिकाले नै सहकारीको अवस्था निर्धारण गर्ने बताउनुभयो । उहाँले शेयर सदस्यहरुले निर्णय प्रकृया र आर्थिक कारोवारमा सहभागीता जनाउनुका साथै नियमित बचत र समयमै ऋण चुक्ता गर्ने प्रद्धतीले मात्रै सहकारीहरु बलियो र सफल बन्ने धारणा राख्नुभयो । कार्यक्रममा बेनी नगरपालिका– ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक कमला देवि गिरीले सहकारीहरुमा देखिएका समस्या समाधानमा सहकारीका सञ्चालक, शेयर सदस्य, सरकार र सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सहकारीको ऋण लगेका ऋणीहरुले समयमै ऋण चुक्ता नगर्ने प्रवृति र सहकारीहरुको अनुत्पादक क्षेत्रमा बढ्दो लगानीका कारण सहकारीहरुमा संकट देखिएको बताउँदै यसतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले सहकारीका सिद्धान्तहरुलाई आत्मसाथ गरेको र शेयर सदस्य केन्द्रित आर्थिक कारोवारका कारण सहकारीको आर्थिक अवस्था सन्तोषजनक रहेको बताउनुभयो । उहाँले शेयर सदस्यहरुलाई नियमित बचतमा जोड्न र आपतविपतमा राहतका लागि नियमित बचत गर्ने शेयर सदस्यहरुको दुर्घटना विमा सहकारी मार्फत गर्ने अवधारण समेत अघि सारिएको बताउनुभयो । कार्यक्रमाम सहकारीका संस्थापक अध्यक्ष नन्द बहादुर छन्त्यालले सबै शेयर सदस्यहरुले आफ्नै सहकारीबाट आर्थिक कारोवार गर्नुपर्ने र ऋणलाई समयमै चुक्ता गर्ने प्रद्धतीलाई प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट पीडित भएकाहरुको लागि रु १० हजार सहयोग गरिएको छ । सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कोषबाट भूकम्पपीडितलाई नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखा मार्फत उक्त सहयोग गरिएको हो । सहकारीका निवर्तमान अध्यक्ष सुवेदीले नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका बरिष्ठ अधिकृत धनन्जयकुमार श्रेष्ठलाई उक्त सहयोग रकम प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा एसईई परिक्षामा सर्वोकृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत एसइई २०७९ मा ४ जीपिए ल्याउने समिर सुवेदीलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ठ कारोवारकर्ता सुजु कुमारी कार्की भण्डारी, कौशिला कटुवाल केसी, उत्कृष्ट कर्मचारीमा सिमा श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले अध्यक्षको प्रतिवेदन, सचिब नरेन्द्र कुमार श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हिराप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक रामबहादुर पौडेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेनीको कोटभण्डारटोलमा केन्द्रिय कार्यालय र रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको यस सहकारीमा अहिले १ हजार जना शेयर सदस्य रहनुभएको सहकारीका प्रवन्धक नारायण सुवेदीले जानकारी दिनुभयो । संस्थाको कारोवारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेफस्कुनद्धारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास ( प्रोबेसन) कार्यक्रममा सम्झौता गरि आबद्ध भएको यस सहकारीले मोवाईल बैंकिङ्ग सेवा समेत सञ्चालनमा ल्याएको जनाएको छ । सहकारीले आर्थिक बर्ष २०७९÷०८० मा रु २५ करोड ४१ लख ९६ हजार १२८ बराबरको कारोवार गरेको जनाएको छ । कुल रु ४ करोड ३१ लख ७३ हजार ९ सय शेयर पुँजी रहेको यस सहकारीले रु १६ करोड १५ लाख ९६ हजार १६७ बचत संकलन, रु १७ करोड २९लाख ६३ हजार ४६५ कर्जा लगानी गरेको जनाएको छ । निवर्तमान अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष श्रेष्ठको स्वागत र प्रवन्धक नारायण सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो भने निर्वाचन समितिका संयोजक सन्तोष सुवेदीले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।