जिविकोपार्जनका लागि भेडापालन (फोटोफिचर)

  • १३ कार्तिक २०८०, सोमबार
  • धिरन खत्री
  • 229 पटक पढिएको

 

म्याग्दी, १३ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको रुईसे चरनक्षेत्रमा चर्दै गरेका भेडा। पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडागोठालाहरुले भेडाबाख्रा चराउने गर्छन् ।

रुईसे ठुलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठहरु हिउँदमा बेशी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुईसे ठुलो पाखोमा विगत २५ बर्षदेखि रघुगंगा–२, धुपीचौरका टेक परियारले भेडापालन गर्दै आउनुभएको छ । भेडापालन गर्दा चाडपर्व र आफन्तसंग भेटघाट रमाईलो गर्न नपाई भेडाको गोठालो भएर निरन्तर हिड्नुपर्ने उहाँले बताउनुभयो ।


उहाँको गोठमा ५० वटा भेडा छन् । बर्षको ८ देखि १० भेडा बेचेर दूई देखि तीन लाख रुपैयाँ आम्दानी गर्ने बताउनुभयो । देउराली भेडाफार्ममार्फत भेडापालन गरेका टेक परियारले गत आर्थिक बर्षमा रघुगंगा गाउँपालिकाबाट उतकृष्ट किसानको पुरस्कार पाउनुभएको थियो । सानो गोठ भएकोले हिउँद बर्खायामा रुईसेको पाखो र वनमा चराउदै आएको बताउनुभयो ।


त्यस्तै उहाँको भाई गोपी परियारले विगत ६ बर्षदेखि जिविकोपार्जका लागि भेडापालन गर्दै आउनुभएको छ । उहाँको गोठमा ३५ वटा भेडाबाख्रा छन् । अन्य पेशा भन्दा भेडापालनबाट जिविकोपार्जन गर्न सहज भएको अनुभव गोपी परियारले सुनाउनुभयो । “अन्य पेशाभन्दा बढी भेडा चराउनमा खट्नुपर्छ, चाडपर्व, झरी बर्खा नभनी रुईसेमा दिनदिनै चराउन ल्याउनुपर्छ, दुख अनुसारको आम्दानी हुन सकेको छैन, आम्दानी बृद्धि गर्न संख्या बृद्धि गर्नुपर्छ, यसका लागि लगानीको अभाव भएको छ”, उहाँले भन्नुभयो ।


त्यस्तै धुपीचौरका अर्का गोपाल परियारले पनि विगत ७ बर्षदेखि भेडापालन गर्दै आउनुभएको छ । उहाँको गोठमा २५ वटा भेडाबाख्रा रहेका छन् । उहाँकी श्रीमती उमा परियारले भेडाबाख्रालाई रुईसेको पाखोमा लैजाने र घरमा ल्याउने काम गर्नुहुन्छ । भेडाबाख्रा पालनबाट घरखर्च चलाउन सहयोग पुगेको उमा परियारले बताउनुभयो ।


रुईसे–भेडिओढारमा ठुला २ वटा र साना ३ वटा भेडाबाख्राका फार्महरु छन् । चरनक्षेत्रमा रुख विरुवा फैलदै जादाँ गाईभैसी र भेडाबाख्राले खाने घासँको अभाव बढ्दै गएको छ । भेडाबाख्राका गोठहरु पर्यटकको आकर्षणमा पर्ने गर्छन् । यहाँ आउने पर्यटकले भेडाका पाठापाठीसंग फोटो खिच्ने र रमाउने गरेको रुईसेमा विगत २५ बर्षदेख भेडापालन गर्दै आउनुभएका कृषक टेक परियारले बताउनुभयो ।

     

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l