बेनी अस्पतालमा ओपिडी सेवा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने

  • २ कार्तिक २०८०, बिहीबार
  • 359 पटक पढिएको

 

म्याग्दी, २ कात्तिक । गण्डकी प्रदेश सरकारले बार्षिक नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा संचालन गर्ने नीतिमा रहेर बेनी अस्पतालबाट सेवा सुरु गरिएको छ ।
विहिबार गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाको उपस्थितमा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्मको ओपिडि सेवा शुभारम्भ गर्नुभएको थियो ।


सेवा सुरु प्रश्चात बोल्दै मन्त्री सिंखडाले प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर स्वास्थ्यको सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले जिल्लाका सरकारी अस्पतालमा आवश्यक पर्ने जनशक्ति ब्यवस्थापन गर्न प्रक्रिया अघि बढेको उल्लेख गर्दै पहिलो प्राथमिकतामा बेनी अस्पतालाई राखेर जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।


विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने स्वास्थ्य सेवालाई प्रभावकारी र ब्यवस्थित रुपमा अघि बढाउन जिल्ला जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, ब्यवस्थापन समिति, कार्यरत डाक्टर, नर्स र कर्मचारीको समन्वयकारी भूमिका आवश्यक हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बेनी नगरपािलका नगरप्रमुख सुरत केसी, स्वास्थ्य मन्त्रालयका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने स्वास्थ्य सेवाले ग्रामिण भेगका जनतालाई सहज हुने बताउदै यसलाई प्रभावकारी रुपमा संचालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।


विहान आठ बजेनै अस्पतालमा स्वास्थ्य सेवा लिन आउनुभएका बेनी नगरपालिका ५ कुरिलाखर्कका निलकण्ठ आचार्यले विहानदेखि सुरु भएको यस सेवालाई प्रभावकारी रुपमा निरन्तर संचालन गर्न डाक्टर र नर्स थपेर उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्यालाई निराकरण गर्न आग्रह गर्नुभएको थियो ।


१८ महिनाको बच्चा बिरामी भएर पर्वतको जलजला गाउँपालिका– ७, लामाखेतबाट आउनुभएकी चेली परियारले विहानको समयमै ओपिडी सेवाबाट बच्चाको उपचार पाउँदा खुशी ब्यक्त गर्नुभएको थियो । ओपिडीसंगै अन्य ल्यापसेवापनि विहानबाट सुरु गरिएको छ ।
बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले दैनिक रुपमा १३ घण्टाको ओपीडी सेवा विस्तारले कर्मचारी, विद्यार्थी ज्याला मजदुरी, ब्यापारी र ग्रामिण भेगका जनतालाई सहयोग पुग्ने उल्लेख गर्दै यसलाई प्रभावकारी रुपमा उपलब्ध गराउन भएको स्रोतसाधनलाई प्रयोग गर्ने बताउनुभयो । उहाँले विरामीले ओपिडी सेवाका लागि लामो समय अस्पतालमा पर्दैन, थप शुल्कपनि लाग्दैन, स्वास्थ्य विमाबाट पनि सेवा पाउने जानकारी गराउनुभयो ।


सेवा विस्तार कार्यक्रममा बेनी अस्पतालकी डाक्टर अन्जु थापाले यस भन्दा पहिल्य सेवाग्राहीले भोग्नुपनरेको समस्या र गुनासोलाई सम्बोन्ध गर्दै अस्पतालले दिदै आएको सेवालाई विहान ७ बजेबाट सुरु गरेर बेलुका ८ बजेसम्म संचालन गरेको बताउनुभयो । उहाँले यसलाई निरन्तरता र प्रभावकारी रुपमा संचालन गर्न सबैले सहयोग गर्न आग्रह गर्नुभयो । शनिबार र सार्वजनिक विदाको दिनमा पनि ओपिडी सेवा संचालन गरिने छ ।