जयन्ती माविको नवनिर्मित विद्यालय भवन उद्घाटन (फोटो फिचर)

  • २९ आश्विन २०८०, सोमबार
  • 439 पटक पढिएको

बेनी, २९ असोस : म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । समुदायको अगुवाइमा निर्माण भएको सुविधा सम्पन्न विद्यालय भवनको आइतवार एक समारोहका बिच उद्घाटन गरिएको हो ।
विद्यालय भवन पुननिर्माणमा करिब रु ३ करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघ संस्था र सरकारी तवरबाट रु ३ करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कुल लागतको आधा भन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीबासीकै नेतृत्वमा जुटाएका भकिम्लीबासीले भव्य समारोह आयोजना गरि सहयोगदातालाई सम्मान गर्दै भवन उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले समुदाय, सरकार, संघ संस्था र प्रवासी स्थानीयबासीको सामुहिक लगानीमा गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको र यसले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सघाउ पु¥याउने बताउनुभयो ।
शिक्षाको लागि जनशक्ति र पुर्वाधार दुबै अति आबश्यक रहेको बताउँदै उहाँले गाउँ गाउँमा विद्यालयका सुविधा सम्पन्न भवन बन्न थालेपनि विद्यार्थी संख्या घट्दै गएकोप्रति विद्यालय व्यवस्थापन समिति र सिंगो समुदाय सचेत बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ र प्रदेश सभा सदस्य हरिहबहादुर भण्डारीले भकिम्लीको विकासमा प्रवासी र समुदायको लगानी र नेतृत्व प्रसंसनीय रहेको बताउँदै गाउँमा शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्दै कृषि र पशुपालनको सम्भावना उजागर गरि आत्मनिर्भरको अभियान आबश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने र वडा अध्यक्ष पदम पुनले विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न आवासीय विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बनाएको बताउँदै यसको लागि थप छलफल र पहल गरिने बताउनुभयो । कार्यक्रममा विद्यालय पुननिर्माणका अभियान्ता लोक रानाले भकिम्लीमा विद्यालय पुननिर्माण र सडक निर्माणमा समुदायको एकता र सदभाव सबैभन्दा ठूलो शक्तिको रुपमा रहेको बताउनुभयो । उहाँले समुदायर प्रवासीले गाउँको विकासमा थालेको अभियानमा सरकारी तवरवाट समेत उल्लेख्य सहयोग हुन सकेमात्रै यसले गाउँको दिर्घकालिन विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय भवन पुननिर्माणमा सघाउने सहयोगदाता र संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको छ । विद्यालय भवन संगै प्रवेशद्धार, खेलमैदान र प्याराफिट निर्माण सहित विद्यालयलाई घेरावार समेत गरिएको छ । छरिएर रहेका साना– साना कक्षाकोठा रहेको र जिर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिक स्वरुप फेरिएको विद्यालयका प्रधानध्यापक भोजबहादुर जिसीले बताउनुभयो । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुननिर्माणसंगै हटेको छ ।
अहिलेसम्म करिब ७५० जना बढीले विद्यालय पुननिर्माणमा सहयोग गरेको र विद्यालयलाई चन्दादाताहरु मार्फत थप सहयोग आउने क्रम जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पुनले बताउनुभयो । पुननिर्माणमा नेपाल सरकारका विभिन्न निकायबाट रु १ करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट रु ९५ लाख, विभिन्न संघ संस्थाहरुबाट ९ लाख र विभिन्न देशमा रहेका भकिम्लीबासीहरुको नेतृत्वमा ६२ लाख बढी सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमबाट रु ३८ लाख सहयोग भित्र्याईएको थियो ।
यस भवन बनाउने अभियानमा नगद रु ५ सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले १७६ जना बालबालिकाहरु अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवन सहित कम्प्युटल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्ष लगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको छ ।
वि.स. २०१६ साल पौष १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ । वि.स. २०१७ सालमा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आईपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतिलाई सामाना गर्दै अघि बढेको देखिन्छ । तत्कालिन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्वर्गीय नारायण देवी रोकाले १ रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।