रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासीलाई आग्रह

  • २७ आश्विन २०८०, शनिबार
  • 249 पटक पढिएको

 

म्याग्दी, २७ असोज । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने जिल्लाका जनप्रतिनिधिहरुले रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासी म्याग्देलीलाई आग्रह गरेका छन् ।

सांसद गर्बुजाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै जिल्लामा सामाजिक तथा मानवीय क्षेत्रमा प्रवासी म्याग्दीलीहरुले महत्वपुर्ण योगदान पुर्‍याएको बताउनुभयो । स्थापनाकालदेखि नै जिल्लामा आइपर्ने आपतविपतको समयमा संगै विकासमा समेत प्रवासी म्याग्दीलीले खेलेको भुमिका प्रशसंनीय भएको बताउनुभयो । प्रवासी म्याग्दीलीहरुले जिल्लामा रोजगारी सिर्जना गर्ने खालका उद्योग खोल्ने तरी पुँजी लगानी गर्न आग्रह समेत गर्नुभयो ।


जिल्लामा लगानी भित्र्याउन आग्रह गर्दै सांसद गर्बुजाले भन्नुभयो,‘प्रवासमा पसिना बगाएर ,आफ्नो छाक कटाएर प्रवासी म्याग्दीलीहरुले जिल्लाको सामाजिक,आर्थिक र मानवीय क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ । यो प्रशसंनीय काम हो । अब जिल्लाको समृद्धी र विकासका लागि लड्नुपर्ने समय आएको छ । हामी जिल्लाका सबै राजनितिक दल, जनप्रतिनिधिहरु र प्रवासमा रहेका म्याग्दीलीहरु एक भएर अगाडी बढ्न आवश्यक छ ।’ गैरआवासीय नेपाली नागरिकलाई समान अधिकार दिलाउन आफुले पहल गरिरहेको जानकारी गराउनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले मोनाले केही वर्ष अघि जिल्लामा बाढी पहिरो विस्थापित पीडित परिवारलाई आवास निर्माण र राहत सहयोग गरेर राज्यले गर्नुपर्ने काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।


पुर्व मन्त्री थममाया थापाले जिल्ला आपतविपतको समय गरेको सहयोगको पं्रशसा गर्दै सबै मिलेर जिल्लाको विकासको गतिलाई अघि बढाउनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रवासमा रहेका म्याग्दीलीहरुको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले मोनाको गरिमालाई बचाउन प्रवासी म्याग्देली लाग्नुपर्ने बताउनुभयो ।
जिल्लामा उद्योग खोल्न आग्रह गर्दै मन्त्री जुग्जालीले सुरक्षा व्यवस्था र पुर्वाधारको काम राज्यले गर्न तयार छ ,’ मन्त्री जुग्जालीले भन्नुभयो । ‘ठुला ठुला सपना भन्दापनि काम गर्न सक्ने एजेण्डालाई मोनाले प्राथमिकतामा राख्नुपर्छ ।’ जिल्लाको सबै बस्तीमा पुगेका सडकलाई स्तरोन्नती गर्न प्रदेश सरकार योजनाबद्ध लागेको बताउनुभयो । सडकसंगै विजुलीलाई सबै बस्ती पुर्‍याउन करिव २१ करोड बजेट म्याग्दीमा भित्रिएको जानकारी गराउनुभयो ।


त्यसैगरी संविधान सभासदस्य रेशमबहादुर बानियाँ ,गण्डकी प्रदेश सभा सदस्यद्धय हरिबहादुर भण्डारी र विमला गौचनले प्रवासमा रहेका म्याग्दीलीहरुलाई जिल्लाको पर्यटन ,जलविद्युत ,उद्योग लगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरिञ्जीवि शर्मा ,नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी ,जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मोनाले आपतविपत,मानवीय र सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो ।


मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका प्रमुख संरक्षक ओमनारायण जुग्जाली ,पुर्व अध्यक्षद्धय प्रकाश पुन र योगेन क्षेत्रीले प्रवासी म्याग्दीलीहरुले स्थापनाकालदेखि म्याग्दीमा विभिन्न क्षेत्रमा ठुलो सहयोग पुर्‍याउँदै आएको बताउनुभयो । प्रमुख सल्लाहकार मिम पुर्जाले महाधिवेशनका लागि सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिनुभयो । मोनाका अध्यक्ष अम्मर छन्त्यालले आफ्नो कार्यकालमा शिविर मार्फत अस्पतालको पहुँच बाहिर रहेका करिब दुई हजार भन्दा बढी स्तन क्यान्सर पीडित महिलाहरुलाई सेवा उपलब्ध गराईको बताउनुभयो । प्रवासी म्याग्दीहरुको साझा मोना बहुउद्धेश्यीय सहकारीको प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।


त्यसैगरी कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल ,कार्यक्रममा सल्लाहकार आशिका गुरुङ,रविन शेरचन ,शिवप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो । महासचिव हरि राम्जाली ,शैल्ताज कुँवर र सचिव सुवोध बरुवालले संचालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा महाधिवेशन संयोजक ददिवल खड्काले स्वागत गर्नुभएको थियो ।


महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाकार मीम पुर्जाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्नुहुँन्छ । महाधिवेशनमा २८ देशबाट प्रतिनिधि सहभागी भएका छन् ।उद्घाटन कार्यक्रममा चिमखोलाको थालीनाचँ प्रस्तुत गरिएको थियो । महाधिवेशनबाट मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व नयन गरिने मोनाले जनाएको छ । कार्यक्रममा प्रथम मोना कप पालिका स्तरीय पुरुष र महिलाको भलिबल तथा बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिताका विजेता ,उपविजेता ,तृतिय र सान्त्वना भएका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । एथलेटिक्स खेलाडी रिक्जना माझीलाई दश हजार रुपैयाँ सहित सम्मान गरिएको छ । विश्वका २८ राष्ट्रहरुमा मोना राष्ट्रिय कार्यकारी समिति गठन भई २० हजारको हाराहारीमा रहेका छन् । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको र्‍याली निकालिएको थियो ।