मोना कप भलिबलको उपाधी पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपूर्णलाई

  • २५ आश्विन २०८०, बिहीबार
  • धिरन खत्री
  • 323 पटक पढिएको

 

म्याग्दी, २५ असोज । म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा उपाधी जितेका हुन् ।

भलिबलप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा बिहिबार भएको फाईनलमा सोझो सेटमा मंगला गाउँपालिकालाई पराजित गर्दै बेनीले उपाधी जितेको हो । मंगला गाउँपालिका उपविजेता बनेको छ ।

महिलातर्फको प्रतिस्पर्धात्मक फाईनलमा मालिका गाउँपालिकालाई १ का विरुद्ध ३ सेटको जित निकाल्दै अन्नपूर्ण गाउँपालिकाले मोना कपको उपाधी जितेको थियो ।

पुरुषतर्फ मालिका गाउँपालिका तेस्रो हुन सफल भएको छ । रघुगंगा गाउँपालिकालाई १ विरुद्ध ३ सेटले पराजित गर्दै मालिका तेस्रो हुन सफल भएको थियो । महिलातर्फ धवलागिरी गाउँपालिकालाई पराजित गर्दै रघुगंगा तेस्रो हुन सफल भएको छ।

पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकालाई क्रमश १ लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्रले शुक्रबार हुने उद्घाटन कार्यक्रम वितरण गरिने छ । पुरुष र महिला भलिबलको दुवै प्रतियोगितामा म्याग्दीका एक नगरपालिका र पाचँवटा गाउँपालिकाका खेलाडीले सहभागिता जनाएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l