मोना कप भलिबल : पुरुषतर्फ मंगला, महिलातर्फ अन्नपूर्ण र मालिका फाईनलमा प्रवेश 

  • २४ आश्विन २०८०, बुधबार
  • 370 पटक पढिएको

बेनी, २४ असोज। सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा संचालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मंगला गाउँपालिका फाईनलमा प्रवेश गरेको छ ।


भलिप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा भएको सेमिफाईनलमा रघुगंगा गाउँपालिकालाई २ का विरुद्ध ३ को सेटको जित निकाल्दै मंगला फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै बेनी नगरपालिका र मालिका गाउँपालिका विच भएको दोस्रो सेमिफाईनलमा समय अभावको कारण एक/एक सेटको बराबरीपछि भोलि बिहिबार बिहान हुने भएको छ ।

महिलातर्फको फाईनलमा मालिका गाउँपालिका र अन्नपूर्ण गाउँपालिका भिड्ने भएका छन् । मालिका गाउँपालिकाले रघुगंगालाई र अन्नपूर्ण गाउँपालिकाले धवलागिरी गाउँपालिकालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको आयोजकले जनाएको छ।

पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकालाई क्रमश १ लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।प्रतियोगिताको फाईनल बिहिबार हुने छ ।