बेनी बजारको सडक फराकिलो बन्दै

  • २४ आश्विन २०८०, बुधबार
  • धिरन खत्री
  • 385 पटक पढिएको

म्याग्दी, २४ असोज । घना बस्ती र अतिक्रमणको कारण साघुरो बनेका बेनी बजारका सडकलाई फराकिलो बनाउने अभियान थालिएको छ । सडकलाई अतिक्रमण गरेर ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने पेटी र सिँढी लगायतका पूर्वाधार बनेपछि बेनी बजारभित्रका सडक साँघुरा बनेका थिए । सडकमा दोहोरो सवारी आवागमन हुन नसक्ने अवस्था आएपछि बजार क्षेत्रमा पैदलयात्रुलाई आवतजावत गर्न कठिनाई हुनुको साथै दुर्घटनाको जोखिम बढ्दै गएको थियो ।


बजार क्षेत्रमा अतिक्रमित सडकलाई खाली गर्न पटक पटक तोकत गर्दा समेत बेवास्ता गरेपछि बेनी नगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका संरचना भत्काउने कामलाई तिव्रता दिएको छ । सार्वजनिक जग्गा र सडक च्यापेर निर्माण गरिएका संरचनालाई हटाएर फराकिलो सडक बनाउने अभियानलाई नगरले निरन्तरता दिएको हो ।

नगरले कालीपुल बसपार्क बाट सुरु गरेको सार्वजनिक जग्गा र सडक च्यापेर बनाएका संरचना हटाउने अभियान विरेन्द्रचोक, महारानी थानसंगै हाल हस्पीटलचोक देखि संगमचोकसम्म संचालन गरेको छ । यातायात आवातजावतलाई असर गर्ने बजारलाई कुरुप बनाउने पेटी लगायतका संरचना हटाउने अभियानलाई बढाईएको बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

सडकमा बनाईएका पेटी र सिँढी हटाउन थालेपछि बेनी बजारभित्रको सडक फराकिलो बनन् थालेको छ । नगरपालिको सडक फराकिलो बनाउँदै त्यसलाई मर्मत र स्तरोन्नती गर्ने कार्यलाई समेत संगसंगै अगाडी बढाएको छ।

सडक च्यापेर बनाएका संरचना हटाएर फराकिलो बन्न थालेपछि बजार चिटिक्क बन्ने र दुर्घटना, सडक जाम कम हुने अपेक्षा गरिएको अस्पतातचोकमा चोकमा होटल ब्यवसाय गर्दै आउनुभएका नन्दबहादुर भण्डारीले बताउनुभयो । उहाँले आफनो घर अगाडी अब्यवस्थित रुपमा बनेका संरचना हटाउने अभियानमा सहयोग गरेको बताउनुभयो ।

बजार क्षेत्रको सडकलाई मापदण्ड अनुसार बनाउने अभियान अन्तरगत चालू बर्षमा वडानम्वर ८ को अस्पतालचोक देखि संगमचोकसम्म करिव एक किलोमिटर सडक क्षेत्रमा सडक मिचेर बनाएका पेटी, तथा अस्थायी संरचना हटाउने र खानेपानीको पाईप ब्यवस्थित बनाउने काम सकेर कालोपत्रे र ढलान गर्ने काम भईरहेको वडानम्वर ८ का वडाअध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो। उहाँले सार्वजनिक जग्गामा भएका संरचना, सडक च्यापेर बनाईएका पेटी लगायतका संरचना हटाउने कामलाई कार्यपालिकाको निर्णय, ब्यवसायी, टोलसुधार समिति विच छलफल र समन्वय गरेर अगाडी बढाउदाँ सहज भएको वडाअध्यक्ष कर्माचार्यले बताउनुभयो ।

“अस्पताल चोकदेखि संगमचोकसम्मको ८९७ मिटर सडकमा रहेको खानेपानी ब्यवस्थापन काम सकिएको छ, अतिक्रमित संरचना हटाएर फराकिलो रुपमा सडक ढलान र कालोपत्रे गर्नका लागि २९ लाख रुपैयाँमा उपभोक्ता समितिमार्फत काम भईरुहेको छ,” उहाँले भन्नुभयो । “ बजार ब्यवस्थापन शिर्षकको सो बजेटबाट अस्थाई संरचना हटाउने, विग्रेका संरचना बनाउने काम भईरहेको छ भने अर्को बर्षको बजेटले न्युरोड क्षेत्रमा अतिक्रमित संरचना हटाएर सडक फराकिलो बनाउने अभियान संचालन हुने छ ।”
बेनी नगरप्रमुख सुुरत केसीले बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप नगरेको बताउनुभयो । उहाँले बजार ब्यवस्थित बनाउन सार्वजनिक जग्गाका संरचना सूचना जारी गरेर हटाउन आग्रह गरिएको समेत बताउनुभयो ।

“बजार क्षेत्रमा सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई निरन्तरता दिएको छौ,” नगरप्रमुख केसीले भन्नुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा, महारानीथानमा अतिक्रमण गरेर बनाइएका पर्खाल, टहरा, सटर, ट्याङ्की र ठेला हटाईसकिएको छ ।

नगरपालिकाले बजार क्षेत्रमा रहेका अब्यस्थित रुपमा रहेका विजुलीका पोल केबल र इन्टरनेटका तारहरुलाई ब्यवस्थित गरेपछि बजारको सौन्दर्यकरणमा सघाउ पुर्‍याएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l