एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा र उप–सचिबमा सन्तोष रावलको उम्मेदवारी
- १७ आश्विन २०८०, बुधबार
- 281 पटक पढिएको
म्याग्दी , १७ असोज । नेकपा (एमाले) गण्डकीको जारी अधिवेशनमा पदाधिकारीमा म्याग्दीबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्ष पदमा नवराज शर्मा र उप–सचिबमा सन्तोष रावलले उम्मेदवारी दिनुभएको हो । एमाले गण्डकी प्रदेश अध्यक्षका लागि शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । निवर्तमान प्रदेश कमिटी अध्यक्ष समेत रहनुभएका शर्माले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।
त्यसैगरि युवा संघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहनुभएका सन्तोष रावलले उपसचिब पदमा उम्मेदवारी दिनुभएको छ । गण्डकी प्रदेश कमिटीको अधिवेशनमा दुई प्यानल नै दर्ता गरेर चुनाबी मैदानमा होमिएका छन् । गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच प्रतिस्पर्धा देखिएको छ । दुबैले गण्डकीलाई प्रतिष्ठाको विषय बनाउँदै आफूले समर्थन गरेको नेतृत्व जिताउन लागिपरेका छन्।
उपमहासचिव गुरूङले बनाएको प्यानलबाट अध्यक्षमा म्याग्दीका शर्मा सहित उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरूङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिक तय भएको छ भने लेखा आयोग प्रमुखमा नवलपुरका अमृत ज्ञवाली र उपाध्यक्षमा गोरखाका गिरिधारी बास्कोटा र सचिवमा बाग्लुङका वीरबहादुर बिकलाई अघि सार्ने बताइएको छ ।
अधिकारी समूहले अध्यक्षमा लमजुङका मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मी आचार्यलाई अघि सारेका छन् । उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरूङलाई अघि सारिएको छ । अधिवेशनबाट १ सय ६५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ।