साढे दुई महिनादेखि लुलाङबासी अन्धकारमा

  • १६ आश्विन २०८०, मंगलवार
  • 318 पटक पढिएको

 

म्याग्दी, १६ असोज । साढे दुई महिनादेखि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका चार सय घर परिवार अन्धकारमा छन् । गत असार २८ गते पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युतगृह बगाउँदा चार बस्तीका तीन सय ७० घरपरिवारको जनजीवन प्रभावित भएको वडाअध्यक्ष अंकप्रसाद विकले बताउनुभयो । विद्युत नभएपछि विद्यालय, स्वास्थ्य चौकीसहित गाउँको जनजीवन प्रभावित बनेको छ ।

घरमा बिजुली नभएपछि बालबालिकाको पढाइ प्रभावित बनेको छ । विद्युत नहुँदा गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासुपसल बन्द भएका छन् भने गाउँलेहरू सञ्चार सेवाबाट समेत वञ्चित हुनुपरेको छ। मोबाइलचार्ज गर्न नपाउँदा आफन्तसंग फोनसम्पर्क हुन सकेको छ्रन् ।

दुईमहिनादेखि अन्धकार रहेको लुलाङलाई दँशै अघि बत्ति बाल्ने योजनासहित विद्युतगृह र पेनस्टक पाईप मर्मत काम भईरहेको वडाअध्यक्ष विकले बताउनुभयो । उहाँले जिल्ला समन्वय समिति र धवलागिरी गाउँपालिकाको सयुक्त लगानीमा ११ लाख २५ हजार रुपैयाँ बजेटमा मर्मतको काम भईरहेको जानकारी दिनुभयो ।

विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुन:सञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको थियो ।
केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा बिजुलीका लागि लघुजलविद्युत् परियोजनामाथि निर्भर छन् ।

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले यसबर्ष म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु २० करोड बजेट विनियोज गरेको उल्लेख गर्दै लुलाङलाई केन्द्रीय लाइन पहुँचमा राख्न पहल भईरहेको बताउनुभयो ।