क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई ३२ लाख सहयोग
- १४ आश्विन २०८०, आईतवार
- 533 पटक पढिएको
बेनी, १४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ ।
वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी पीडित सगुनलाई हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष शेरपुजाले स्वदेश तथा विभिन्न देशमा रहेका पाखापानी, म्याग्दीली लगायत नेपालीबाट उक्त सहयोग रकम जुटेको बताउनुभयो । ‘‘पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि स्तन क्यान्सर पीडित सगुनको उपचारमा समस्या देखियो । उहाँलाई बचाउन र उहाँको उपचार सफल बनाउन मेरै नेतृत्वमा ‘सगुन बचाउ अभियान आर्थिक’ सङ्कलन सुरु गरिएको थियो ।
तीन महिनाको अवधिमा करिब ३२ लाख रुपियाँ सहयोग रकम जुटेको हो, सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु, वडा अध्यक्ष शेरपुजाले भन्नुभयो । सगुन नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जावलाखेल ललितपुरमा उपचाररत हुनुहुन्छ ।
पीडित सगुनले भन्नुभयो, ‘‘वैशाखमा स्तनमा गिर्खा आएपछि अस्पतालमा जचाउँदा डाक्टरले क्यान्सरको लक्षण देखाएका थिए । अहिलेसम्म आठ वटामध्ये चार वटा किमो चढाएर उपचार गरिएको छ । फेरि किमो चढाएपछि भक्तपुर जानुपर्छ भन्नुभएको छ । यती खर्च हुन्छ भनेर भन्नुभएको छैन ।’’