पश्चिम नेपाल सहकारीको १६ औँ साधारणः सहकारी संस्थाहरुलाई शेयर सदस्यहरुले नियमन गर्न मन्त्री जुग्जालीको आग्रह

  • १३ आश्विन २०८०, शनिबार
  • 367 पटक पढिएको

बेनी, १३ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले सहकारीहरुलाई शेयर सदस्यहरुले नियमन गर्नुपर्ने बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारण सभालाई शनिवार सम्बोधन गर्दै मन्त्री जुग्जालीले आफ्नो लगानी रहेको संस्थाको वित्तिय अवस्थाको बारेमा शेयर सदस्यहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो ।
पछिल्लो समय सहकारीहरु संस्थाहरु संकटग्रस्त बन्न थालेको बताउँदै आफ्नो मुनाफा मात्रै नभएर सहकारीको लगानी, जोखिम कर्जा, बचत संकलन लगायतको आर्थिक कारोवारलाई शेयर सदस्यहरुले नजिकबाट नियमन गर्नुपर्ने बताउनुभयो । ‘‘ सहकारीको नियमन र अनुगमन गर्ने पहिलो निकाय नै शेयर सदस्य हो, सञ्चालक र कर्मचारीहरुले गर्ने नीयम विपरितका कार्यहरुलाई रोक्न सक्यो भनेमात्रै सहकारीहरु व्यवस्थित रुपमा सञ्चालन हुन सक्छन, राज्यले गर्ने नियमनले मात्रै सहकारीहरु सुदृढ बन्न सक्दैनन्’’–उहाँले भन्नुभयो ।
राज्यले तीनखम्बे अर्थनीतिमा सहकारीलाई समेत एउटा बलियो आधार मानेको उल्लेख गर्दै उहाँले केही सहकारीका सञ्चालक र कर्मचारीहरुको लापरबाही र कमजोरीले समग्र सहकारी क्षेत्रमा नै पश्न उठेको मन्त्री जुग्जालीको भनाई थियो । राज्यले समेत सहकारीहरुलाई आबश्यक नीति निर्माण गरेर व्यवस्थित गर्न जरुरी रहेको बताउँदै उहाँले स्थानीय तहहरुले समेत आफ्नो क्षेत्रमा रहेका सहकारीहरुको नीयमित अनुगमन गर्नुपर्ने बताउनुभयो ।
जनशक्ति र पूर्वाधार विहिन डिभिजन सहकारी संस्थाले सहकारीहरुको नियमन गर्न नसकेको बताउँदै उहाँले यसतर्फ प्रदेश सरकारको ध्यानकर्षण भएको उहाँको भनाई छ । धौलागिरि क्षेत्रमा शिव शिखर र इमेज सहकारीको बदमासीले आम नागरिकमा सहकारीप्रति नै गम्भिर अविश्वास पैदा गरेको उल्लेख गर्दै सञ्चालक, शेयर सदस्य र कर्मचारीहरुको जागरुकताले मात्रै सहकारीलाई सहि बाटो अघि बढाउन सम्भव रहेको मन्त्री जुग्जालीले बताउनुभयो ।
सञ्चालक समितिका पदाधिकारीले ऋण नलैजाने र सहकारीलाई व्यवस्थित बनाउन विभिन्न नीति र कार्ययोजना निर्माण गरि अघि बढेको कारण विश्वव्यापी आर्थिक संकटका बिच पनि पश्चिम सहकारीले आफ्नो वित्तिय अवस्थालाई बिग्रन नदिएको बताउँदै उहाँले लगानी गर्दा व्यक्तिको अनुहार नहेरी लगानीको क्षेत्रलाई ध्यान दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले यस अघि सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरिसकेको छ । ताकम, बाबियाचौर, दरवाङ, तातोपानी, वारीबेनी, भगवती र पोखरेबगर सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको यस संस्थाले १६ औँ बार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारी, बचतकर्ता र ऋणीहरुलाई समेत सम्मान गरेको छ । साधारण सभाको अवसरमा सहकारीका शेयर सदस्य समेत रहनुभएका मन्त्री जुग्जालीलाई समेत मन्त्री बन्न सफल भएकोमा सम्मान गरिएको थियो ।

सहकारीको साधारण सभाको उद्घाटन कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतम, धवलागिरि गाउँपालिकाका पूर्व अध्यक्ष थमसरा पुन,नेफ्स्कुनका फिल्ड कार्यालय सदस्य रामजीप्रसाद सुेवदी, पोखरा कार्यालय प्रमुख सुर्यप्रसाद तिमल्सिना, राष्ट्रिय सहकारी बैँक बागलुङका प्रवन्धक युवराज त्रिपाठी, सहकारीका निवर्तमान अध्यक्ष सुरेन्द्रराज शर्मा, मुख्य व्यवस्थापक प्रेमलाल कडेल लगायतले मन्तव्य राख्नुभएको थियो । सहकारीका उपाध्यक्ष हरिप्रसाद पौडेलको स्वागत र सचिब कृष्ण प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आर्थिक वर्ष २०७९÷०८० सम्ममा छ हजार १२२ जनाको रु. १२ करोड ९५ लाख १८ हजार २०० सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा रु. ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ निक्षेप संकलन गरेको छ । रु. ७४ करोड चार लाख ७६ हजार ६८६ लगानी गरेको संस्थाले रु. एक करोड ५९ लाख ५६ हजार ८२३ आम्दानी गरेको अध्यक्ष भिमप्रसाद गौतमले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म रु. ७१ करोड ४४ लाख ६४ हजार ४२८ लगानी र रु. ६४ करोड ८३ लाख सात हजार १८५ बचत संकलन गरेको सहकारीको तरलता प्रतिशत २७.७१ रहेको सहकारीका मुख्य व्यवस्थापक प्रेमलाल कडेलले बताउनुभयो । दरवाङ, पश्चिम म्याग्दी, कामना, सिंगा उपभोक्ता, शिख बहुउद्देश्यीय, बाबियाचौर बहुउद्देश्यीय, फुलबारी, प्रभु र पर्वत बेनीको नवकालिगण्डकी वचत तथा ऋण सहकारी संस्था एकिकरण भएर बनेको संस्थाको प्रधान कार्यालय मालिका गाउँपालिका–६ दरवाङमा छ । धवलागिरीको ताकम, मंगलाको बाबियाचौर, बेनी, रघुगंगाको भगवति, अन्नपूर्णको पोखरेबगर र जलजलाको पर्वत बेनीमा सदस्य सेवा केन्द्र छन् । वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले रु. एक/एक सय सेयरबाट सहकारी शुरु गरेका थिए ।

समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम सञ्चालन गरेको छ ।