पहिरोले महभिरका दुई घर पुरिए, १६ घर जोखिममा

  • १० आश्विन २०८०, बुधबार
  • 343 पटक पढिएको

बेनी , १० असोज: म्याग्दीको मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती माथिबाट खसेको पहिरोले दुई घर पुरिएको छ भने १६ घर पहिरोको जोखिममा परेका छन् । आज विहान भारी बर्षासंगै बस्ती माथिको सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको छ ।

रातको समयमा पहिरो खस्न थालेपछि स्थानीयबासीले भाडदौड गरेर ज्यान जोगाएका थिए । भारी वर्षा संगै खसेको पहिरोले काले कामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षती पु¥याएको वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो ।

पहिरोले घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो समेत पुरिएका छन् । विस्थापित कामी र घर्तीको परिवारलाई छिमेकीको घरमा सुरक्षित रुपमा बस्ने प्रवन्ध मिलाईएको छ । पहिरोले घरगोठ पुँरीदा रु १० लाख बढीको क्षति भएको वडा सदस्य गुरुङले बताउनुभयो ।

यसैबिच मध्यरातमा बाढीले बस्तीमा बितण्डा बच्चाएपछि मालिका गाउँपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पहिरोले क्षति पु¥याएको क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, वडा अध्यक्ष भेजेन्द्रमान पुन लगायतको टोलीले पहिरो पीडितको अवस्था र पहिराले पु¥याएको क्षतिको अवस्थाबारे स्थलगत निरिक्षण गर्नुभएको हो ।