मनकारी मन : ‘सिंगामा व्यक्तिगत लगानीमा प्रतिक्षालय निर्माण’ (फोटो फिचर)

  • ९ आश्विन २०८०, मंगलवार
  • कमल खत्री
  • 533 पटक पढिएको

कमल खत्री

बेनी, ९ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा स्थानीय एक व्यक्तिले रु २१ लाख बढी लगानीमा सुविधासम्पन्न प्रतिक्षालय निर्माण गर्नुभएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ पौडेलले आफ्नो दिवंगत बुबा आमा विष्णुदत्त र हरिकला देवी पौडेलको स्मृतिमा रु २१ लाख ११ हजार ५५५ लगानीमा पक्की प्रतिक्षालय निर्माण गर्नुभएको हो ।
काठमाडौँमा बसोबास रहेपनि गाउँको विकास निर्माण र सामाजिक कार्यमा सक्रिय रहनुभएका पौडेलले बेनी–दरबाङ सडकखण्ड र सिंगाको वडा कार्यालय जाने पौडेलचोकमा पक्की प्रतिक्षालय निर्माण गर्नुभएको वडा अध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीय धौलागिरि माध्यमिक विद्यालयमा रु १ लाख २५ हजार सहयोग गर्नुभएका पौडेलले युवा क्लब, आमा समूह, लगायतका स्थानीय संघ संस्थाहरुसंग समन्वय गरि सामाजिक कार्यहरुमा निरन्तर सहकार्य गर्दै आउनुभएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।


प्रतिक्षालय निर्माण भएपछि बेनी–दरबाङ सडकखण्डमा आवत जावत गर्ने यात्रु र पैदलयात्रीहरुलाई थकान विसाउन सहज भएको छ । त्यसैगरि वडा कार्यालय र धौलागिरी माध्यमिक विद्यालय जाने चोकैमा प्रतिक्षालय रहेकाले स्थानीयबासीलाई समेत जमघट गर्न र छलफल गर्न प्रतिक्षालय सहयोगी बनेको छ । जन्मथलोको सामाजिक कार्यलाई निरन्तरता दिने सिलसिलामा आफुले आफ्नै जग्गामा उक्त सार्वजनिक प्रतिक्षालय बनाएको निर्माणकर्ता पौडेलले बताउनुभयो । प्रतिक्षालयमा आउनेहरुलाई शुद्ध खानेपानीको समेत प्रवन्ध मिलाईएको उहाँले जानकारी दिनुभयो ।


‘‘काठमाडौँ बसोबास भएपनि मैले जन्मथलो छाडेको छैन, यहाँ निरन्तर आइरहन्छु, यहाँको सामाजिक कार्यहरुसंग निरन्तर जोडिएको छु, प्रतिक्षालय भवनले यात्रु र यात्री संगै सर्वसाधारणलाई थकान मेटाउने उपयुक्त चौतारी हुने मेरो विश्वास छ ’’–उहाँले भन्नुभयो । पौडेल परिवारले निर्माण गर्नुभएको प्रतिक्षालयको ‘श्री ॐ प्रभु/ पौडेल प्रतिक्षालय’ नामाकरण गरिएको छ ।  यसैबिच उक्त प्रतिक्षालय भवनको मंगलवार गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर भण्डारीले उद्घाटन गर्नुभएको छ ।
प्रतिक्षालयको उद्घाटन गर्दै प्रदेश सभा सदस्य भण्डारीले व्यक्तिगत रुपमा लाखाँै लगानी गरेर विकास निर्माणमा सघाएकोमा पोडेल परिवारलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले विकास निर्माणमा सरकार र समुदायको साझेदारीले उपलब्धी हाँसिल गर्न सकिनेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय जनचेतना युवा क्लबले सामाजिक कार्यमा उल्लेख्य योगदान दिएकोमा पौडेल परिवारलाई सम्मान गरेका थिए । क्लबका अध्यक्ष सुरेन्द्र भण्डारी र प्रदेश सभा सदस्य भण्डारीले पौडेल दम्पतीलाई अविर, माला र सम्मानपत्रद्धारा सम्मान गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी, शुभकामना कृषि सहकारी संस्थाका निवर्तमान अध्यक्ष केदार प्रसाद पौडेल, वडा सदस्य सन्दिप (केन) खत्री,निवर्तमान वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले प्रतिक्षालय निर्माण गर्ने पौडेलको सामाजिक कार्यको प्रसंसा गर्दै उहाँको सामाजिक कार्यले समाजमा सकरात्मक सन्देश प्रवाह गर्नेमा जोड दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका पूर्व अध्यक्ष देवेन्द्र चोखालले गर्नुभएको थियो ।        

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l