ज्ञानोदय माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव मनाइयो (तस्बिर सहित)

  • ४ आश्विन २०८०, बिहीबार
  • 433 पटक पढिएको

म्याग्दी ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाइएको छ । बार्षिक उत्सवको अवसरमा विहिवार विद्यालयले गाउँपालिका स्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्रका विभिन्न ६ विद्यालयले सहभागीता जनाएको उक्त प्रतियोगितामा ज्ञानोदय मावि मौवाफाँट प्रथम, महेन्द्र मावि झिँ द्धितीय,  मुक्तिधाम मावि भगवती तृतीय र अमर मावि चिमखोला सान्त्वना हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल समूहलाई क्रमशः नदग रु १० हजार, ७ हजार, ५ हजार र २ हजारको साथमा प्रमाण पत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागी जनता मावि दग्नाम र महादेव मावि बेगका कलाकारहरुलाई नगद रु १५/१५ सय पुरस्कार र प्रमाणपत्रद्धारा सहभागी पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षकका साथै विद्यालय र छिमेकी विद्यालयका विद्यार्थीहरुले समेत विविध नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले ज्ञानोदय माविको शैक्षिक गुणस्तर जिल्लामा स्तरीय रहेको बताउँदै आगामी दिनमा समेत गुणस्तरलाई थप सुधार गर्दै लैजान आग्रह गर्नुभयो । एसइई परिक्षाको पछिल्लो दुई बर्षको नतिजामा ज्ञानोदय माविको अवस्था जिल्लामा रहेको सामुदायिक विद्यालयतर्फ उत्कृष्टभित्र पर्न सफल रहेको बताउँदै उहाँले विद्यालयप्रति विश्वास गरि आफ्ना बालबालिकाहरुलाई ज्ञानोदय माविमा भर्ना गर्न सुझाब दिनुभयो । कार्यक्रममा विद्यालयका सल्लाहकार बालकृष्ण सुवेदीले गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानोदय माविमा प्रस्तावित माविका रुपमा सञ्चालन हुँदा समुदाय स्तरबाट ठूलो योगदान भएको स्मरण गर्दै यस विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सम्बन्धित सबै सरोकारवालाहरुले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्व प्रअ सोमनाथ शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य कमला केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि आबश्यक योजना सहित अघि बढिएको बताउँदै सबै क्षेत्रको सहयोगले विद्यालयलाई उत्कृष्ट बनाउन सम्भव रहेको बताउनुभयो । उहाँले विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, अभिभावक र सरोकारवाला सबैको सहकार्यले मात्रै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिने बताउनुभयो ।
विद्यालयका प्रधानध्यापक विजय शर्माले विद्यालयको बस्तु अवस्थाको बारेमा जानकारी सहित स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक अर्जुन पौडेलले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक तथा कर्मचारी र विद्यालयलाई सहयोग गर्ने चन्दादाता र सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।