विकासमा तीन तहको सरकारले समन्वय सहकार्य गनुपर्छ : मुख्यमन्त्री पाण्डे

  • ४ आश्विन २०८०, बिहीबार
  • 365 पटक पढिएको

 

म्याग्दी, ४ असोज । गण्डकी प्रदेशका मुख्मन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आवश्यकता अनुसार विकास गर्न तीन तहको सरकारले समन्वय सहकार्य गर्नुपर्ने बताउनुभएको छ। म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनलाई उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले विकासले पछी परेको म्याग्दी जिल्लालाई उकास्न तीन तहका जनप्रतिनिधिले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभयो ।

“एकले अर्कालाई आरोप लगाउने काम चार बर्षपछि चुनावमा गरौला, अहिल्य आमनागरिकलाई खुशी तुल्याउन ध्यान दिऔँ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “जनतालाइ जहाँ समस्या र अभाव छ, त्यहाँ सरकार भएको महशुस हुने गरि काम गर्न तीन तहको सरकारको भूमिका रहन्छ । संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास गर्दै जनतालाई सुविधा दिनुपर्छ ।”

तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य नगरी एकले अर्कालाई आरोप लगाउँदा जनताले अपेक्षा गरेअनुरुप कार्यसम्पादन हुन नसकेको उल्लेख गर्नुभयो ।
समाजमा लुकेर रहेको क्षमता र ब्यक्तित्वलाई बाहिर ल्याउन नेपाल जेसिजले जस्तै अन्य संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुन्छ, गाउँकै स्थानीय स्रोत साधन प्रयोग गरेर उदाहरणीय काम गर्ने किरन थापा र देवान छन्त्याल जस्ता युवा उद्यमीलाई प्रोत्साहित गर्न प्रदेशले अनुदानको ब्यवस्था पनि गरेको उल्लेख गर्नुभयो । कृषि र पशुपालन जडीबुटी क्षेत्रका क्रियाशिल उद्यमीलाई उत्पादनमा आधारित अनुदान दिन प्रदेश तयार रहेको बताउनुभयो ।

म्याग्दीको पश्चिम क्षेत्रको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको फापरखेतको पहिरोले निम्त्याएको सवारी आवागमनको समस्यालाई हल गर्न बैकल्पिक सडकको लागि बेलिब्रिज पुल निर्माण कार्य प्रदेश सरकारले चालु आर्थिक बर्षमा गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
निर्माण व्यवसायिको चरम लापरबाहीले अलपत्र बनेको बेनी अस्पतालको भवन पूर्णता दिन निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउन लागेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहले स्रोत सुनिश्चितता गरेर आएमा अस्पताल हस्तान्तरण गर्ने उल्लेख गर्दै आरोप भन्दा रचनात्मक सुझाव लिएर आउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमविर गर्बुजा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरी भण्डारी र विमला गौचनले युवाहरुको ब्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था नेपाल जेसीजको बेनीमा भएको क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्‍याउन मदत पुग्ने धारणा राख्नुभएको थियो ।

सम्मेलन सभापति रजनी थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय अध्यक्ष विकास मानन्धर, जिसस प्रमुख राजकुमार थापा, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, बेनी नगरपालिका मेयर सुरत केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, मातृ शाखा बागलुङका शौरभ श्रेष्ठ मन्तव्य राख्नुभएको थियो । दुईदिनसम्म हुने कार्यक्रमबारे सम्मेलनका निर्देशक सुविन श्रेष्ठले जानकारी गराउनुभएको थियो भने म्याग्दी जेसिजका अध्यक्ष सुमन बानियाँले स्वागत मन्तव्य राख्नुभएको थियो ।