बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु (फोटो फिचर)

  • ४ आश्विन २०८०, बिहीबार
  • कमल खत्री
  • 317 पटक पढिएको

कमल खत्री
बेनी, ४ असोज : म्याग्दी सदरमुकाम बेनीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा बेनीमा आयोजना भएको क्षेत्र ‘ख’ सम्मेलनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको छ ।
बेनी बजारमा साँस्कृतिक झाँकी सहितको ¥यालीले परिक्रममा गरेपछि खुलामञ्चमा सम्मेलनको उद्घाटन गरिएको हो । उद्घाटन समारोहका अवसरमा म्याग्दीको मौलिक, कला, संस्कृतिको प्रदर्शन समेत गरिएको छ । देशभरबाट आएका नेपाल जेसीजका प्रतिनिधिहरुलाई बेनी बजारका चोक चोकमा यहाँका विभिन्न जातजाति, संघ संस्थाहरुले मौलिक कला र संस्कृतिको प्रस्तुती सहित स्वागत गरेका थिए ।
सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाएको सम्मेलन निर्देशक सुविन श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरि देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकको रुपमा सहभागीता रहेको छ ।
सम्मेलन जेसीजको आन्तरिक सम्मेलन भएपनि देशभरबाट प्रतिनिधिहरु आउने भएकाले सम्मेलनलाई म्याग्दी चिनाउने अभियानका रुपमा सञ्चालन गर्ने जमर्को गरिएको निर्देशक श्रेष्ठले बताउनुभयो । बेनीको खुलामञ्चमा सञ्चालन भएको सम्मेलनमा भाग लिन आउने जेसीजकर्मीहरुलाई स्वागत गर्न बेनी बजार सरसफाई गरिएको छ भने तुल, व्यानर र धोजापतकाले बजार सजावट समेत गरिएको छ ।
अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिएको छ । सम्मेलनमा भाग लिन आएका जेसीजकर्मीहरुलाई बेनी नजीकका धार्मिक र पर्यटकीय स्थलहरुको समेत भ्रमण गराउने योजना रहेको म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जेसीजको नियमित कार्यक्रम सहित म्याग्दीको मौलिक, कला र संस्कृतिको प्रस्तुती, म्याग्दीको पहिचान र चिनारी झल्कने तस्बिर र बृत्तचित्र प्रदर्शनलाई समेत समावेश गरिएको आयोजकले जनाएका छन् ।      

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l