ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली

  • ३ आश्विन २०८०, बुधबार
  • 276 पटक पढिएको

 

पिप्ले, ३ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्दैै मन्त्री जुग्जालीले म्याग्दीका सडकहरुलाई सहज र सुरक्षित बनाउने योजनामा प्रदेश सरकारले प्राथमिकता दिएर बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो ।

“अवको पाँच वर्षको अवधिमा म्याग्दीका सडक यातायातको क्षेत्रमा सुधार भएको नागरिकले महशुस गर्न पाउने गरि हामी लागिरहेका छौ,” उहाँले भन्नुभयो “मुख्य मुख्य सडकलाई कालोपत्र र सहायक सडकलाई ग्राभेल गर्ने लक्ष्य सहित आएको बजेटलाई सबै सचेत भएर गुणस्तरीय दंगले कार्यान्यनको वातावरण बनाउनुपर्छ ।”
गण्डकी प्रदेश सरकार मार्फत पिप्ले देखि भगवतिको जोड्ने सडक कालोपत्र भएको र भगवति देखि बेग जोड्ने सडकलाई कालोपत्र गर्न योजनालाई निरन्तरता दिने मन्त्री जुग्जालीले बताउनुभयो ।

पिप्ले–रानीपौवा–रिसिनचौतारी–बेगखोलालाई बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डको विकल्पको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेपनि बनाखी लगायतका ठाउँको पहिरोले चुनौति सिर्जना गरेको बताउनुभयो । बनाखीको पहिरोको प्राविधिक अध्ययन गरेर निर्णय गरिने बताउनुभयो ।

बेनी देखि रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी जोड्ने सडक कालोपत्र गर्ने यसै वर्ष ठेक्का लागेर काम शुरु गर्ने तयारी गरेको र घुमाउनेताल–पिप्ले–मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला–कुइनेमंगले जोड्ने सडकलाई त्यहाँ निर्माणाधिन जलविद्युत आयोजनाले पूर्णता पाएपछि स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।

हरेक वडामा एकिकृत सामुदायिक भवन बनाउन आवश्यक रहेको बताउदै मन्त्री जुग्जालीले खेलमैदान लगायत खेल पूर्वाधारका लागि जग्गाको व्यवस्थापन गरेका क्लव, संघ संस्थालाई प्रदेश सरकारबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।
सबै तहका जनप्रतिनिधि र कर्मचारीहरुले जिम्मेवार भएर जनताले विश्वास गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै भ्रष्ट्राचारको विरुद्ध सबै क्षेत्रबाट आवाज उठाउनुपर्ने र सचेत रहन आग्रह गर्नुभयो ।

क्लव अध्यक्ष सुजल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रघुगंगा गाउँपालिकाका कार्यपालिका सदस्य सम्झना परियार, पिप्लेका पूर्व वडा अध्यक्ष जिवनबहादुर मल्ल, र नेपाली काँग्रेसका वडा सभापति अशोक शाही, एमालेका वडा अध्यक्ष सुमन पौडेल र माओवादी केन्द्रका वडा अध्यक्ष नारायण सुवेदीले पिप्लेका समस्याका विषयमा मन्त्री जुग्जालीको ध्यानाकर्षण गराउनुभयो ।

हरितालिका तिज पर्वको अवसरमा पुरुष, महिला, प्रौढ भलिबल र बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबल र बास्केटबलमा बिजेतालाई रु. सत्तरी हजार र उपबिजेतालाई रु. ४० हजार, प्रौढ भलिबलमा बिजेतालाई रु. ६० हजार र उपबिजेतालाई रु. ३५ हजार पुरस्कार व्यवस्था गरिएको छ । महिला भबिलबका बिजेतालाई रु. ३० हजार र उपबिजेतालाई रु. २० हजार पुरस्कार प्रदान गरिने नवसन्तोष युवा क्लवका मेला आयोजक समितिका अध्यक्ष सुशान्त मल्लले बताउनुभयो ।

कार्यक्रमको अवसरमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही, क्लवका प्रौढ भलिबल टिम र बास्केटबल टिम लगायतलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।