बेनी अस्पताललाई डायलाइसीस मेसिन

  • ३ आश्विन २०८०, बुधबार
  • 269 पटक पढिएको

 

बेनी, २ असोज । मृगौला रोगबाट पिडित बिरामीका लागि म्याग्दीको बेनी अस्पताललाई डायलाइसीस मेसिन प्राप्त भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मृगौला सम्बन्धी बिरामीको डायलाइसीस गर्ने दुई थान डायलाइसीस मेसिन उपलब्ध गराएको हो । मन्त्रालयको आपुर्ति महाशाखाले डायलाइसीस मेसिन उपलब्ध गराएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

महाशाखाका कर्मचारीहरुले अस्पतालका अध्यक्ष सुवेदी, डाक्टर अञ्जु थापा र काठमाडौमा रहनुभएका म्याग्दीका अर्जुन थापालाई मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

“बेनी अस्पतालमा भएका ६ वटा मध्य २ वटा डायलाइसीस मेसिन बिग्रिएकाले सेवा प्रभावित भएको थियो,” अध्यक्ष सुवेदीले भन्नुभयो “मन्त्रालयले उपलब्ध गराएका डायलाइसीस मेसिन ल्याएर आउदैछौ । केही दिनमा जडानको काम सकेर सेवा सञ्चालन गर्छौ ।”

मन्त्रालयले उपलब्ध गराएको सो डायलाइसीस मेसिनको मूल्य रु. २८ लाख रहेको छ । डायलाइसीस मेसिन बिग्रिएपछि मृगौलाका बिरामी मर्कामा परेपछि समितिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ मार्फत मन्त्रालयमा नयाँ मेसिन माग गरेको थियो ।

दुई वटा मेसिन बिग्रिदा अस्पतालमा डायलाइसीस सेवा लिइरहेका ४ जना मृगौलाका बिरामी अन्यत्र जान बाध्य भएका थिए । हाल २३ जनाले डायलाइसीस सेवा लिइरहेका छन् ।

मिर्गौलाका बिरामीले हप्ताको एकदेखि जटिलता हेरेर चार पटकसम्म डायलासिस गराउनुपर्ने हुन्छ । अझै पर्याप्त डायलाइसीस मेसिन नभएका कारण म्याग्दीका १५ जना भन्दा बढी मृगौलाका बिरामीहरु डायलाइसीसका लागि पोखरा र काठमाडौ जाने गरेका छन् ।

बेनी अस्पतालमा वि.स. २०७६ चैत महिनादेखि डायलाइसीस सेवा सञ्चालन भएको थियो । गण्डकी प्रदेशले उपलब्ध गराएको चार वटा मेशिन र प्रवासी म्याग्देलीले दुईवटा मेशिन दिएका थिए । ६ वटा मेशिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिने गरीएको छ ।

मिर्गौलापीडित बिरामी अधिकांशको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको छ । निजी अस्पतालमा एकपटक डायलासिस गराउँदा यातायात, खानाबस्नसहित गरी रु. आठ हजारभन्दा बढीसम्म खर्च हुन्छ ।