नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा

  • ३ आश्विन २०८०, बुधबार
  • धिरन खत्री
  • 235 पटक पढिएको

 

बेनी, ३ असोज । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । असोज ५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा भव्य उद्घाटन हुनेछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने अवसरका रुपमा उपयोग गर्दै छ । स्थापना भएको छोटो समयमा नै सन २००७ मा पहिलो पटक क्षेत्र ख सम्मेलन गरेको म्याग्दी जेसीजले नेपाल जेसीजमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

बेनीमा भएको पहिलो सम्मेलनलाई नेपाल जेसीजका अभियान्ताहरुले अविश्मरणीय क्षणको रुपमा सुनाउने गर्छन् । पहिलो सम्मेलन गरिसकेको म्याग्दी जेसीजले दोस्रो पटक आतित्यथा गर्न गएको सम्मेलनलाई थप व्यवस्थित, प्रभाबकारी र स्मरणीय बनाउने जमर्को गरेको छ । सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । त्यसैगरि देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकको रुपमा सहभागीता रहने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

सम्मेलन जेसीजको आन्तरिक सम्मेलन भएपनि देशभरबाट प्रतिनिधिहरु आउने भएकाले सम्मेलनलाई म्याग्दी चिनाउने अभियानका रुपमा सञ्चालन गर्ने जमर्को गरिएको उहाँले बताउनुभयो । बेनीको खुलामञ्चमा सञ्चालन हुने सम्मेलनमा भाग लिन आउने जेसीजकर्मीहरुलाई स्वागत गर्न बेनी बजार सरसफाई गरिएको छ भने तुल, व्यानर र धोजापतकाले बजार सजावत समेत गरिएको छ । सम्मेलनमा भाग लिन आउने अतिथिहरुको लागि आवास व्यवस्थापन, कार्यक्रम सञ्चालन हुने खुलामञ्च व्यवस्थापन देखि अतिथिहरुको आमन्त्रण र प्रचार प्रसारका काम सकिएको क्षेत्र ख सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने अतिथिहरु बेनी आउन सुरु गरिसक्नुभएको छ । सम्मेलनलाई सफल बनाउन आर्थिक संकलन, मायाँको चिनो, साँस्कृतिक झाँकी, लगायतको समेत बन्दोबस्त गरिएको छ । अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने भएको छ । ‘‘हामीले सम्मेलनमा म्याग्दीको पहिचान र चिनारी गराउने कोसीस गरेका छौँ, देशभरबाट आउने अतिथिहरुलाई म्याग्दीको पर्यटन र संस्कृतिको छाप दिन सक्यौँ भने, भोलीका दिनमा म्याग्दीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउँछ भन्ने हाम्रो विश्वास हो,’’– म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष सन्दिप खत्रीले भन्नुभयो ।

क्षेत्र ख सम्मेलनमा नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको उहाँले बताउनुभयो ।
सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ । सम्मेलनको विहिवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने छ । सम्मेलनको उद्घाटनको अवसरमा बेनीमा झाँकी सहितको र्‍याली निकालिनेछ ।

बेनी बजार र मंगलाघाट बजार परिक्रमा गर्ने र्‍यालीमा सहभागीहरुलाई चोक चोकमा विभिन्न जाति, समुदाय र संघ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको पदर्शन गराईनेछ । सम्मेलन परिसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियासंगको सहकार्यमा नदेखिएको म्याग्दी शिर्षकको तस्बिर पदर्शनी हुनेछ भने सम्मेलनमा म्याग्दीको कला, संस्कृति र पर्यटन सम्भावनाको बृत्तचित्र समेत पदर्शन गरिने भएको छ । म्याग्दीको मौलिक कला र संस्कृति सहितको मनोरञ्जन दिन उद्घाटन हुने दिनको साँझमा ‘म्याग्दी नाईट’ साँस्कृतिक प्रस्तुती राखिने आयोजकले जनाएको छ ।

सम्मेलन म्याग्दी चिनाउने अवसर : निर्देशक श्रेष्ठ

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् उच्च पर्यटकीय सम्भावना बोकेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन दोस्रो पटक आतिथ्यता गर्ने अवसर प्राप्त गरेकोमा गौरबको अनुभूति गर्दै सम्मेलनमा पाल्नु भएका सम्पूर्ण जेसीज मित्रहरुलाई स्वागत गर्न पाउँदा हामी हर्षित र उत्साहित भएका छौं । सन् २००७ मा पहिलो पटक भव्यताका साथ गरिएको ऐतिहासिक क्षेत्र‘ख’ सम्मेलनलाई सम्झँदै, विगतको अनुभवलाई सँगाल्दै उत्कृष्ट सम्मेलन बनाउने हाम्रो प्रयास रहिरहेको छ ।

एउटै परिवार, एउटै समूह र एउटै लक्ष्य भन्ने नेपाल जेसीजको मूल नारालाई आत्मसात गर्दै हाम्रा मौलिक कला संस्कृति, स्थानीय उत्पादन, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई यो क्षेत्र ‘ख’सम्मेलनसँग जोड्दै सम्पूर्ण जेसीज मित्रहरुलाई बन्धुत्वको भावनामा बाँध्दै सम्मेलन उपलब्धिमूलक बनाउन हाम्रो प्रयास निरन्तर रहिरहेको छ । सम्मेलनलाई थप उपलब्धिमूलक बनाउन यहाँहरुको साथ, सहयोग र हातेमालोको लागि अनुरोध गर्दछौं । यो सम्मेलनको आतिथ्यता म्याग्दी जेसीजको मात्र नभई समग्र म्याग्दी जिल्ला र म्याग्देलीहरुको रहेको जानकारी गराउँदछु । ५ वटा गाउँपालिका र एक नगरपालिका रहेको यो जिल्लामा प्रत्येक पालिकाको आ–आफ्नै बिशेषताहरु रहेका छन् ।

हामीले यही सम्मेलनको अवसर पारी प्रकाशन गरीएको ब्रोसर र “विम्ब” स्मारिकामा पनि सबै पालिकाहरुको छोटो परिचय सहित पालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पुग्न लाग्ने दुरीको समय उल्लेख गरेका छौं भने छिमेकी जिल्ला बाग्लुङ, पर्वत र मुस्ताङका केही धार्मिक र पर्यटकीय क्षेत्रहरुको पहिचान दिने प्रयास गरेका छौं । आउने अतिथिहरुलाई खानामा समेत स्थानीय उत्पादनको स्वाद चखाउने हाम्रो तयारी छ । समग्र यो सम्मेलनले नेपाल जेसीजको यात्रा र म्याग्दीको चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौँ । सम्मेलनलाई लक्षित गरेर म्याग्दी आउने अतिथिलाई राम्रो ब्यवस्थापन सहित खुशी बनाए पठाउन सकियो भने भोलिको दिनमा पर्यटक बढाउनमा सहयोग पुग्ने छ । नेपाल जेसिजको क्षेत्र ख सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठ

सम्मेलनलाई सम्झनयोग्य बनाउँछौँ : शाखा अध्यक्ष बानियाँ

म्याग्दी जेसीजको २५ औं बर्षकोे अवसरमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन म्याग्दी जेसीजको आतिथ्यततामा बेनीमा हुन गईरहेको छ। असोज ४ र ५ गते बेनीस्थित खुल्लामञ्चमा हुने सम्मेलनलाई सफल बनाउन म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्था, टोलसुधार समिति, क्लवसंग छलफल सहकार्य गरेर तयारी पुरा भएको छ ।

४१ शाखाका पदाधिकारी र देशभरका परिबेक्षकसहित करिव ६ सय जना अतिथिहरु सम्मेलनमा आउँदै हुनुहुन्छ । सम्मेलनको मञ्च ब्यवस्थापनसहितको तयारी पुरा भएसंगै अतिथिहरु आउने क्रम बढेको छ। जेसीजको आन्तरिक सम्मेलनको तयारीसंगै म्याग्दी सम्मेलन गर्ने किसिमले संयोजक, उपसमिति बनाएर प्रचारप्रसार, कार्यक्रमको उद्देश्यबारे जानकारी, स्थानीय उत्पादनको खोजी, धार्मिक एवम् पर्यटकीस्थलको प्रचारप्रसार र अतिथिहरुको लागि होटल ब्यवस्थापनको काम सकेका छौ ।

अतिथिहरुको स्वागतका लागि बजार सरसफाई, सजावट, जातिय कलासंस्कृतिको प्रदर्शनी, खुल्लामञ्चमा खानपिन, उद्घाटन, सम्मेलन र समापनको तयारी गरेका छौ । क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धन, मौलिक कलासंस्कृतिको महत्व स्थानीय उत्पादित बस्तुको प्रचारप्रसार गराउनमा सहयोग पुग्ने अपेक्षा समेत म्याग्दी जेसिजले गरेको छ। आउने अतिथिहरुलाई स्थानीय उत्पादन अल्लोबाट निर्माण भएका झोला, कालीगण्डकी नदीमा पाईने शालीग्राम, टिम्मुरको अचारको रुपमा कोसेली र बेनीको बजार जता माया उतै छ नजर लेखिएको जाले रुमाल मायाको चिनोको रुपमा दिईने छ ।

सम्मेलन मार्फत युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा थप सहयोग गर्ने उद्देश्य समेत रहेको छ। सम्मेलनमा आउने अतिथिलाई राम्रो ब्यवस्थापन गरेर राख्न सकियो भने भोलिको दिनमा म्याग्दीमा पर्यटक बढाउन सहयोग पुर्‍याउन हाम्रो विश्वास छ । जसले गर्दा म्याग्दीको स्थानीय उत्पादन, कलासंस्कृति र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ । सबै सहभागीहरुका लागि यो सम्मेलन सम्झनयोग्य बनाउने हाम्रो प्रयास छ, त्यसमा म्याग्दी जेसीज र सम्मेलन आयोजक समिति लागिपरेको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँ

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l