श्रीकृष्णले लाखेको बध गरेपछि बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकियो (फोटो फिचर)

  • १ आश्विन २०८०, सोमबार
  • कमल खत्री
  • 336 पटक पढिएको

बेनी, १ असोज : म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको छ । सोमबार हरितालिका तिजको साँझ स्वरुपको लाखेको मुकुण्डोलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिएको हो । दिनभर बेनी बजारमा पदर्शन भएको लाखे नाच साँझ बेनीबजारको संगमचोकमा लाखे र श्रीकृष्णको स्वरुपम धारणा गरेका कलाकारको तरबार नाच सहित देखाईएको थियो । बेनीको साँस्कृतिक जात्राको रुपमा रहेको बर्खे नाचको अन्तिम दिनको लाखे र श्रीकृष्ण बिचको तरबार लडाईको नाच हेर्न सर्वसाधारणको भिड लागेको थियो ।
नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाइएको नेपाल भाषा मंकाः खलःका उपाध्यक्ष कुविर कुमार श्रेष्ठले जानकारी दिनुभयो । यस बर्षको बर्खे नाचमा लाखे, गोरु, रोपाई, नागानागीनी, र जोगी नाच देखाईएको उहाँले बताउनुभयो ।
बर्खे नाच अन्तरगत प्रस्तुत हुने लाखे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई देखाउने गरिन्छ । बेनी बजारमा बस्ती बसेदेखी नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाईन्छ । नेपाल भाषा मंकाः खलः अन्तरगत रहेको युवाहरुलाई साँस्कृतिक विभागको नेतृत्वमा तालिम र प्रशिक्षण दिएर बर्खेनाचलाई निरन्तरता दिने गरिएको छ ।
यस बर्ष बालबालिकादेखि युवाहरुले बर्खेनाचमा सक्रिय सहभागीता जनाएका थिए । बर्खेनाचमा करिब १०० बढी कलाकारहरु सहभागी भएको नेपाल भाषा मंकाः खलः को साँस्कृतिक विभाग संयोजक सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, रोपाई र जोगी नाचमा बेनीमा रहेका सामुदायिक र नीजि विद्यालयका कलाकारहरुले समेत सहभागीता जनाएका थिए ।     

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l