मालिकामा राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाइयो (तस्बिर सहित)

  • ३० भाद्र २०८०, शनिबार
  • 455 पटक पढिएको

म्याग्दी २९ भदौ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रवार राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरि मनाइएको छ । सामाजिक विकास कार्यालय, म्याग्दी र गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा जनप्रिय माविमा रहेको जनप्रिय बाल क्लबको आयोजना, मालिका गाउँपालिकाको समन्वय र संगम म्याग्दीको सहजीकरणमा विद्यार्थीहरुबिचको प्रतियोगितात्मक र प्रतिभा प्रष्फुटन हुने कार्यक्रम सहित दिवस मनाईएको हो ।


दिवसको अवसरमा बालविवाह न्यूनीकरणको बिषयमा जनचेतनामुलक नाटक प्रदर्शन, गाउँपालिकाको वडा स्तरीय चित्रकला, निवन्धलेखन र जनप्रिय माविका विद्यार्थीहरुबिचको बतृत्वकला प्रतियोगिता र मैत्रीपूण भलिबल प्रतियोगिता सम्पन्न गरिएको छ । दिवसको अवसरमा आयोजित बाल कचहरीबाट बालअधिकारको सुरक्षा, संरक्षण र प्रवद्र्धनका लागि विभिन्न ११ बुँदे मालिका घोषणापत्र जारी गरिएको छ ।
घोषणापत्रमा बालबालिकाहरुको हक, अधिकार संगै बालमैत्री शासन र बालमैत्री पूर्वाधार संगै बालविवाह न्यूनिकरण र विद्यालय र समाजमा रहेका विभिन्न प्रकारका विभेदहरुलाई हटाउने बिषय समेटिएको छ ।
‘बाल अधिकार हाम्रो अधिकार’ बिषयक निवन्ध लेखनमा शिद्ध आधारभुत विद्यालयका अजय पुन प्रथम,मालिका आधारभुतका यशोदा पुन मगर द्धितीय र जनप्रिय माविका सागर सुवेदी तृतीय हुन सफल हुनुभएको छ । मेरो सपनाको विद्यालय बिषयक चित्रकला प्रतियोगितामा जनप्रिय माविका सागर सुवेदी प्रथम, सोही विद्यालयका विक्रम पुन द्धितीय र मालिका आधारभुतका किस्मत रोका तृतिय हुन सफल हुनुभएको छ । कार्यक्रममा आयोजित जनप्रिय माविको कक्षा ९ र १० को स्वभाविक वक्तृत्वकला प्रतियोगितामा अश्विन सुवेदी प्रथम, सपना सुवेदी द्धितीय र अनमिका सुवेदी तृतीय हुन सफल हुनुभएको छ । त्यसैगरि अस्वभाविक वक्तृत्वकला प्रतियोगितामा अनमिका सुवेदी प्रथम, सपना सुवेदी द्धितीय र अश्विन सुवेदी तृतीय हुन सफल हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई प्रमाणपत्र र ट्रफिद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा बालविवाहको समस्या उजागर गर्ने नाटक समेत प्रदर्शन गरिएको थियो भने विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो । कार्यक्रममा विद्यालयको तह स्तरीय मैत्रीपुर्ण भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो । उत्कृष्ट नाटक प्रस्तुत गरेकोमा नगद रु २ हजार पाँच सय सहित ट्रफि र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो भने गत बर्षको एसईई परिक्षामा गाउँपालिकामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गवुर्जा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति, शिक्षा अधिकृत अशाक रिजाल, गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला परियोजना संयोजक रमेश बुढा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सुवेदी, प्रधानध्यापक दिवाकर सुवेदी, संगम म्याग्दीका  हिरा बरुवाल, पविता पुनलगायतले विद्यार्थीहरुलाई ट्रफि, प्रमाणपत्र र अविर लगाएर पुरस्कार प्रदान गर्नुभएको थियो । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका १४ वटा वडाहरुमा रहेका सामुदायिक विद्यालयहरुमा शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्न संगम म्याग्दी र कदम म्याग्दी मार्फत परियोजना सञ्चालन गर्दै आएको गुड नेवर्स इन्टरनेश्नल नेपालको अगुवाईमा यि दुई पालिकामा यस बर्षको राष्ट्रिय बालदिवस भव्यताका साथ मनाईएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा दुई वटा पालिकामा रहेका ६७ वटा सामुदायिक विद्यालयमा विद्यालय स्तरका ४११ वटा प्रतियोगिता र १३ वडा वडामा वडा स्तरीय ५२ वटा प्रतियोगिता सम्पन्न गरेर १ हजार ४३९ जना बालबालिका पुरस्कृत भएको गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला परियोजना संयोजक रमेश बुढाले जानकारी दिनुभयो । बालदिवसको अवसरमा आयोजित प्रतियोगितामा ३ हजार ५ सय जना बढी बालबालिकाहरुले सहभागीता जनाएका थिए ।
यसैबिच दरबाङमा आयोजित राष्ट्रिय बाल दिवसको मुल समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गर्बुजाले बालदिवसलाई प्रतियोगितात्मक र सन्देश मुलक कार्यक्रम सहित मनाउनुले बालअधिकारको संरक्षण र संवद्र्धनमा रचनात्मक सहयोग पुग्ने बताउनुभयो । उहाँले बालमैत्री शासनका लागि बालमैत्री पूर्वाधारको निर्माण गर्दै पालिकाभित्र बालअधिकार हनन् हुन नदिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष घर्ति र शिक्षा अधिकृत रिजालले शिक्षा क्षेत्र नीति तथा कार्यक्रम र बजेट निर्माणमा प्राथमिकतामा परेको बताउँदै आगामी दिनमा प्रविधिमैत्री शिक्षाको लागि गाउँपालिकाले जोड दिने बताउनुभयो । कार्यक्रममा गुड नेवर्स इन्टरनेश्नल नेपालका जिल्ला परियोजना संयोजक बुढाले अतिरिक्त क्रियाकलापहरुले विद्यार्थिहरुमा प्रतिस्पर्धि क्षमताको विकास गर्दै खोजी र रुचिको अध्ययनमा समेत टेवा पु¥याउने बताउँदै बालअधिकारको संवद्र्धनमा स्थानीय तहसंग समन्वय गरेर थप रचनात्मक गतिविधिमा सक्रिय हुने प्रतिबद्धता जनाउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीको अध्यक्षता, प्रधानध्यापक सुवेदीको स्वागत मन्तव्य र शिक्षक बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रमममा बाल कचहरीको सहजीकरण पत्रकार कमल खत्रीले गर्नुभएको थियो ।