भर्जुलामा भदौमै बोटमा लटरम्म सुन्तला पाक्यो (तस्बिर सहित)

  • २५ भाद्र २०८०, सोमबार
  • 509 पटक पढिएको

बेनी, २५ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ भर्जुलामा भदौ महिलामैसुन्तला पाकेको छ । स्थानीय अगुवा कृषक बमबहादुर शेरपुञ्जाले गर्नुभएको जापनीज प्रजातिको बेमौसमी सुन्तलाका बोटमा भदौ महिनामै सुन्तला पाकेका हुन् । शेरपुञ्जाले आफ्नो बारीमा रोप्नुभएको जापनीज मेगावासे प्रजातिको सुन्तलाका बोटमा सुन्तलाका फल पाकेर विक्रि गर्न थाल्नुभएको छ । बेमौसममा सुन्तला उत्पादन गर्ने लक्ष्यका साथ कलमी विरुवा रोप्नुभएका शेरपुञ्जाले विरुवा रोपेको एक बर्षदेखि नै बोटले फल दिन सुरु गरेको बताउनुभयो ।
उहाँले विगत एक दशक देखि बमौसमी फलफुल खेतीमा लागीपरेको र अहिले परिक्षणको रुपमा गरिएको उन्नत जातको बेमौसमी सुन्तला खेती सफल भएको बताउनुभयो ।
‘‘हामीले स्थानीय जातको सुन्तला खेती गर्दै आएका थियौँ, विभिन्न प्रजातीका उन्नत फलका विरुवा रोपेर परिक्षणको रुपमा फलफुल खेतीलाई अघि बढाएको थिएँ, अहिले १५ वटा सुन्तलाको बोटले राम्रो फल दिएको छ’’–उहाँले भन्नुभयो । कृर्षक शेरपुञ्जाले जापनीज प्रजातिको मेगावासे संगै मिनुवासे प्रजातिको समेत सुन्तलाको खेती गर्नुभएको छ । यि दुबै प्रजातिका सुन्तलाका बोटमा भदौदेखि नै सुन्तला पाक्ने गर्छन् ।
शेरपुञ्जाको बगैचाँमा स्थानीय जातका ६० बोट सुन्तला छन् । उहाँले ड्रागन फ्रुट, एभोकाडो, अङ्गुर, वासिङटन मेबिल प्रजातिको जुनार लगायतका फलफूलको व्यवसायिक खेती समेत गर्दै आउनुभएको छ । अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नुभएका शेरपुञ्जाले वि.स. २०७१ सालमा गाउँ फर्किएपछि कृषि सहकारी संस्था स्थापना गरेर गाउँलाई नै व्यवसायिक फलफुल खेतीतर्फ अगाडी बढाउनुभएको छ ।
स्थानीय भर्जुला कृषि सहकारी संस्थाको अध्यक्ष समेत रहनुभएका शेरपुञ्जाले गाउँमा हरेक घरमा सुन्तला खेती गर्ने लहर चलेको जानकारी दिनुभयो । शेरपुञ्जाको आधुनिक कृषि प्रतिको लगाबले गाउँमा व्यवसायिक सुन्तला खेती गर्ने अभियान विस्तार हुदै गएको स्थानीय मनकुमार जुग्जालीले बताउनुभयो । भर्जुलाका करिब ६० घरधुरीमा अहिले ३० देखि १०० बोटसम्म सुन्तला रोपेका छन् । तस्बिर ः मनकुमार जुग्जाली