सिजन अगाबै पर्यटक आउन थालेपछि घोडेपानीका पर्यटन व्यवसायी उत्साहित

  • २३ भाद्र २०८०, शनिबार
  • 477 पटक पढिएको

­कमल खत्री
बेनी, भदौ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
बर्खायाम नसकिँदै विदेशी पर्यटकहरुको आगमन सुरु भएको छ । भदौको पहिलो सातादेखि दैनिक रुपमा २० देखि ५० जनासम्म विदेशी पर्यटकहरु पुनहिल पुग्न थालेका छन् । आगामी सिजनका लागि विदेशी पर्यटकहरुले धमाधम होटल बुकिङ गर्न थालेको घोडेपानी होटल व्यवस्थापन समितिको अध्यक्ष मीना पुनले बताउनुभयो ।
उहाँका अनुसार, असोजदेखि मंसिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटकहरु आउने गर्छन् । मुख्य सिजनमा यहाँ दैनिक ४ सयदेखि १ हजारसम्म पर्यटकहरु भित्रने गरेको अध्यक्ष पुनले बताउनुभयो ।
अहिले पर्यटन सिजन सूरु नहुँदै विदेशी संगै आन्तरिक पर्यटकहरु समेत घोडेपानी आउन थालेका छन् । विभिन्न विद्यालय, कलेज, संघ, संस्था र समूहबाट सामुहिक रुपमा भ्रमणमा आउनेहरु समेत बढेका छन् । घोडेपानीसम्म नै सडकको पहुँच जोडिएपछि आन्तरिक पर्यटकहरुको आवागमन बढेको स्थानीय पर्यटन व्यवसायि ज्ञानबहादुर गर्वुजाले जानकारी दिनुभयो ।
गाउँपालिका मार्फत पुनहिलमा प्रवेश शुल्क र टिसप सञ्चालनको लागि स्थानीय पाँच जना व्यवसायीहरुले रु रु ६३ लाख ११ हजार मा आय ठेक्का लिएका छन् । पुनहिलमा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकलाई रु १५० प्रवेश शुल्क लिने गरिएको छ । ‘‘ पर्यटकहरुको आवागमन सुरु भएको छ, हामीले घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गलाई सरसफाइ गरेर चिटिक्क पारेका छौँ, पर्यटकहरुले पनि आफ्नो भ्रमण तालिका बनाएर होटल बुकिङ गर्न थाल्नुभएको छ’’–पर्यटन व्यवसायि गर्वुजाले भन्नुभयो ।
घोडेपानी क्षेत्रमा विदेशी र आन्तरिक पर्यटकहरु उल्लेख्य मात्रामा आउन थालेपछि यहाँका होटल व्यवसायिहरुले होटलको क्षमता विस्तार गरेका छन् । ४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २६ वटा ठूला होटल रहेका छन् । अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।
मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन, उच्च हिमाली भुगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकहरुले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाईमा पार्ने गरेको अष्टेलियाका पर्यटकहरुलाई भ्रमणमा लिएर आउनुभएका नेपाल वेयल्ड प्रा.लि.का सञ्चालक रामहरी न्यौपानेले बताउनुभयो । उहाँले यस क्षेत्रको भ्रमण सकेर जाने पर्यटकहरु यहाँको प्राकृतिक सौन्दर्यताले लोभिएर पुन भ्रमणमा आउने संख्या समेत बढी रहेको जानकारी दिनुभयो ।
चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गर्छ । घोडेपानीका पर्यटन व्यवसायिहरुले यस क्षेत्रलाई पदमार्ग र सडक दुबैको सहज पहुँच बनाउन लागिपरेका छन् । अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरबाट घोडेपानी सडक सञ्जालले जोडिएको छ ।
घोडेपानीबाट कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न स्थानीयबासीले माग गरेका छन् । कास्कीबाट घोडेपानी जोड्ने परम्परागत पदमार्गलाई विस्थापित नगरिकन सडकको पहुँच समेत जोड्ने योजनामा रहेको घोडेपानीका पर्यटन व्यवसायि एवम् अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष क्याप्टेन डमबहादुर गर्वुजाले जानकारी दिनुभयो ।