चिमखोलामा शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

  • २२ भाद्र २०८०, शुक्रबार
  • 377 पटक पढिएको

म्याग्दी २२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको अमर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा रघुगंगा गाउँपालिकाको वडा नम्बर ५ देखि ८ सम्मका विभिन्न विद्यालयका नवनियुक्त शिक्षकहरुलाई लक्षित गरेर उक्त तालिम सञ्चालन भएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा ३१ जना शिक्षकहरुको सहभागीता रहेको छ । तालिममा लर्नका कार्यक्रम निर्देशक कृष्ण तिलिजा पुन र कार्यक्रम विशेषज्ञ तोयाप्रसाद अम्माईले सहजीकरण गर्नुभएको छ । सिकाई उपलब्धी बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर वालमैत्री शिक्षण बिधी अपनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जनाइएको छ ।
तालिममा शैक्षिक सामग्री निर्माण र त्यसको कक्षाकोठामा प्रर्दशनी गर्ने विषयमा सैद्धान्तिक तथा ब्यवहारिक बिषयमा जानकारी गराईने बताइएको छ । लर्नले पाठ्यक्रसँग मिल्ने शैक्षिक सामग्री बनाएर कक्षा कोठामा प्रर्दशनी गर्न आवश्यक सामग्री निर्माण सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।
रघुगंगा गाउँपालिकासंगको साझेदारीमा वडा नम्बर १ देखि ४ सम्मका विद्यालयहरुको लागि समेत यो तालिम विगत दुई बर्षदेखि सञ्चालन हुदै आएको गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले जानकारी दिनुभयो ।