रघुगंगा गाउँपालिकाका कर्मचारीहरुद्धारा निजामती सेवा दिवस बहिस्कार

  • २२ भाद्र २०८०, शुक्रबार
  • 289 पटक पढिएको

म्याग्दी, २२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवस बहिस्कार गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा, बृत्ति विकास सुनिश्चितता नभएको, प्रस्तावित संघीय निजामती सेवा ऐनको मस्यौदा र गण्डकी प्रदेशबाट जारी भएको स्थानीय सेवा ऐन र नियमावलीमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निजामतीको परिषामा नसमेटिएको र कर्मचारीहरुबिच विभेद देखिएकाले निजामती सेवा दिवस बहिस्कार गरेका हुन् ।


शुक्रवार गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विरोध स्वरुप कालोपट्टी बाँधेरे विरोध जनाएका छन भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमनाउने र सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय अनुसार शुक्रवार विरोध जनाईएको हो ।
उनीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवालाई स्थानइि निजमती सेवाका रुपमा समेट्नुपर्ने, निजामती अस्पतालमा स्थानीय निजामती सेवाका सबै कर्मचारीहरुलाई समेट्नुपर्ने लगायतका माग राखेका छन् । कर्मचारीहरुले बुझाएको ज्ञापन पत्र र विज्ञप्तीलाई जिल्ला प्रशासन कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाईएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । म्याग्दीका अन्य स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले समेत शुक्रवार परेको निजापती सेवा दिवस बहिस्कार गरेका छन् ।