रेडक्रस म्याग्दीको स्वर्ण जयन्ती मनाईयो

  • १९ भाद्र २०८०, मंगलवार
  • 305 पटक पढिएको

म्याग्दी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । प्रभातफेरी प्रश्चात मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो ।


कार्यक्रममा रेडक्रस म्याग्दीले गर्दै आएको सामाजिक कामको प्रंशसा गर्दै मन्त्री जुग्जालीले रेडक्रसको गरिमालाई जोगाउन आग्रह गर्नुभयो । उहाँले म्याग्दीको योजनावद्ध विकासका लागि पूर्व र वर्तमान जनप्रतिनिधिहरुसहित जिल्लाका अगुवाहरुको सामूहिक छलफलबाट साझा अवधारण बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिले छलफल गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

जुग्जालीले खरिद ऐनको समस्याले विकास योजनाहरु कार्यान्वयनमा समस्या भएको उल्लखे गर्नुभयो । रेडक्रस म्याग्दीका संस्थापक अध्यक्ष एवम पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले रेडक्रसको गरिमालाई बचाएर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले गण्डकी प्रदेशका मन्त्री जुग्जालीलाई पार्टी भन्दा माथि उठेर जनताको चाहना अनुसारको काम गर्न आग्रह गर्नुभएको थियो ।


स्वर्ण जयन्तीको अवसरमा पुर्व सभापति, पूर्व कार्यसमितिका सदस्य, यशस्कर सदस्य, पूर्व कर्मचारी, २० पटक भन्दा माथि रक्तदान गर्ने ब्यक्ति, कोभिडको समयमा सहयोग पुर्‍याउने ब्यक्तित्वहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
रेडक्रस म्याग्दीले विपद ब्यवस्थापन, रक्तसञ्चार कोष, एम्वुलेन्स अक्षकोष, कर्मचारी हित कोष लगायतमा ५२ लाख ४२ हजार६७६ रुपैयाँ रहेको छ । रेडक्रसमा आजीवन सदस्य तीन हजार ३८१, विशिष्ट सदस्य एकहजार ११३, यशस्कर सदस्य ३५ जना रहेका छन् ।


रेडक्रस म्याग्दीका सभापति अम्मर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, पूर्वसभापति माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ, मुक्ति रोकामगर, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जिल्लामा अकस्मात हुने आपतविपत्तमा रेडक्रसले गरेको सहयोगको चर्चा गर्नुभएको थियो ।


उपसभापति काशिराम रेग्मीको सात सिद्धान्त वाचन, उपसभापति विष्णु रोकामगरको स्वागत र मन्त्री यामबहादुर चोखालको संचालनमा भएको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।