अस्पतालचोकमा सार्वजनिक जग्गामा बनेका कच्ची संरचना भत्काइयो

  • १८ भाद्र २०८०, सोमबार
  • 257 पटक पढिएको

म्याग्दी, १८ भदौ । बेनी नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका अतिक्रमित संरचनालाई हटाउन थालेको छ । बेनीको कालिपुलमा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाएर बसपार्क विस्तार र विरेन्द्रचोकका अस्थायी संरचना हटाएर सडक विस्तार गरेको बेनी नगरपालिकाले बेनी बजारभित्रका अतिक्रमित जग्गाको खोजी गर्न थालेको हो ।
सोमबार बेनी नगरपालिका–८ अस्पताल चोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुईवटा पसलको कच्ची संरचना हटाइएको छ । बेनी नगरपालिकाले बजारभित्र बषौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा गरेपछि भत्काएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । अस्थायी सटर भत्काएको ठाउँमा पार्किङस्थल बनाइने मेयर केसीले जानकारी दिनुभयो। ‘यो अभियान निरन्तर रहन्छ,‘अतिक्रमण हटाउने र संरक्षणको अभियानलाई सघाउन अनुरोध गरेका छौ’–मेयर केसीले भन्नुभयोे ।

सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीको सम्झौता म्याद सकिएपछि थप गरिएको छैन् । यस अघि विरेन्द्रचोक स्थित जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की हटाइएको छ भने ठेलामा फलफूल व्यवसाय गर्दै आएकाहरूलाई समेत नियमन गरिएको छ । अस्थायी संरचना हटाएका क्षेत्रमा पार्किङस्थल तथा सडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माण गरिएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन नगर प्रहरीले सक्रियता देखाएको छ ।