सडक, पदमार्गबाट पर्यटकीय क्षेत्र डढेकोत पुग्न सहज ( फोटोफिचर )

  • १७ भाद्र २०८०, आईतवार
  • धिरन खत्री
  • 215 पटक पढिएको

 

म्याग्दी, १७ भदौ । सडक, पदमार्गले म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित रहेको डढेकोत डिलमा पुग्न सहज भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको जगन्नाथ मन्दिरबाट डढेकोत दरबारको डिलसम्म पुग्न पदमार्गले सहज बनाएको हो ।

जगन्नाथ मन्दिरसम्म सडक सुविधा र त्यहाँबाट डढेकोतसम्म पदमार्ग आन्तरिक पर्यटकलाई डिलमा पुग्न सहज भएको पुलाचौरका प्रताप बानियाँले बताउनुभयो । जगन्नाथ मन्दिर दर्शन आउने धार्मिक पर्यटक सजिलै डढेकोत दरबार क्षेत्र र केभहिल पुग्न सकिन्छ ।

ऐतिहासिक जगन्नाथ मन्दिर तथा गाजने गाउँको सिरमा डढेकोत राजदरबार छ । यहाँ अहिले दरबारको भग्नावशेष भेटिन्छ । यहाँ एउटा सानो कोत मन्दिर रहेको हुँदा स्थानीयले हरेक वर्षको बडादशैँमा नवदुर्गाको पूजा गर्दै आएका छन् । समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको डढेकोत दरबारको आसपासबाट हिमशृङ्खलासहित ग्रामीण सौन्दर्यता हेर्न पाइन्छ ।

प्रन्धौ शताब्दीमा पर्वत राज्यको राजकाज सम्हालेका मल्लराजा दिलिपबम मल्ल (डिम्ब) ले डढेकोतमा रहेको राजदरबारबाट पर्वत राज्यको शासन गरेका थिए । राजा मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याई गाजनेमा जगन्नाथ मन्दिर स्थापना गरेको किंवदन्ती रहेको जगन्नाथ मन्दिर गुठी संचालन तथा ब्यवस्थापन समितिका सचिव निलकण्ड शर्माले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय क्षेत्र डढेकोतबाट सूर्योदय र सूर्यास्त तथा संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, दशौँ अग्लो चुचुरो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छ्रे, मानापाथी, गूर्जा, चुरेनलगायतका दर्जन बढी हिमाल हेर्न पाइन्छ । म्याग्दीको बेनी नगरपालिकासहित छ वटै पालिकाको ३६ वटा वडा र छिमकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बाग्लुङ, मुस्ताङको डाँडाकाँडा पनि यहाँबाट देखिन्छन् ।

आनन्दको वातावरण भएको यस क्षेत्रको पर्यटन विकासका लागि थप पर्यटन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । धार्मिक र एतिहासिक महत्व जोडिएको जगन्नाथ–डढेकोत क्षेत्रमा आउने सडकलाई स्तरोन्नतीमा प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो ।

   

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l