माओवादीको तीन महिने अभियान म्याग्दीमा पनि सुरु

  • १६ भाद्र २०८०, शनिबार
  • 263 पटक पढिएको

 

म्याग्दी, १६ भदौ । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान म्याग्दीमा पनि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गरेपछि म्याग्दीमा पनि माओवादीका नेताहरु तोकिएका वडामा पुगेर अभियान सुरु गर्नुभएको हो ।
पाटीका केन्द्रिय सदस्य, प्रदेश, जिल्ला समिति र पालिका कमिटीका नेताहरु वडा–वडामा पुगेर अभियान संचालन गर्नुभएको थियो । म्याग्दीका ४५ वटै वडामा अभियानमार्फत नेताहरु वडामा पुगेर बैठक, भेला, प्रशिक्षण, अन्तरक्रिया, संगठन निर्माण, पार्टी प्रवेश र माओवादीको एजेण्डाबारे जानकारी गराउने अभियान छ ।


बेनीमा जिल्ला ईञ्चार्ज गुप्तबहादुर हमाल, रघुगंगामा सत्यनारायण शेरचन, अन्नपूर्णमा चन्द्रबहादुर घिमिरे, मंगलामा निलप्रसाद पुन, मालिका र धवलागिरीमा चन्द्रबहादुर बुढाले पालिका स्तरीय अभियानका लागि ईञ्चार्जको जिम्मेवारी पाउनुभएको छ । अभियानका क्रममा माओवादीका अन्य घटकमा रहेका, काँग्रेस, एमालेका र स्वतन्त्र व्यक्तिहरु माओवादीमा प्रवेश गर्ने क्रम बढेको नेताहरुले बताएका छन् ।

प्रदेश कमिटिका सचिवालय सदस्य बिनोद केसी बेनी नगरपालिका ६ अर्थुङ्गे, प्रदेश सदस्य चन्द्रप्रसाद बुढाथोकी मंगला गाउँपालिका, अर्का सदस्य खुमनाथ सुवेदी धवलागिरी, गौरी सेञ्चुरी मालिका ४ ओखरबोट, रिम कटुवाल रघुगंगा गाउँपालिकाको भगवति, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दर्मीजामा पुगेर अभियान सुरु गर्नुभएको छ ।


जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार बेनी नगरपालिका–४ सिंगामा उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीका जनताले माओवादीसँग गरेको अपेक्षा पुरा गरेरै छाड्ने उद्घोष गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका जुग्जालीले टोल स्तरसम्म माओवादी नेतृत्वको सरकारले शुसासनका पक्ष र म्याग्दीको विकासका लागि गरेका कामको प्रचारसँगै संगठन निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

२०७४ को तुलनामा समानुपातिकतर्फ माओवादीले २०७९ मा करिब चार हजार पाँच सय बढी मत पाउनुलाई म्याग्दीका नागरिकले गरेको अपेक्षा र विश्वासको रुपमा लिएको बताउदै आगामी चुनावसम्म म्याग्दीका सबै वडामा माओवादीको उपस्थिति बढाउने र काँग्रेस–एमालेसँग त्रिपक्षीय प्रतिस्पर्धा गर्न सक्ने बनाउने जुग्जालीको भन्नुभयो ।

“म्याग्दीमा अरुको तुलनामा विकास बजेट र योजना कार्यक्रम माओवादीले ल्याउन सक्छ भनेर देखाएका छौ,” उहाँले भन्नुभयो “भित्रिएका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन भयो भने म्याग्दीका जनताले हामीले चुनावमा प्रतिवद्धता गरे जसरी देखिने र सुनिने गरी विकासको महशुस गर्नेछन् ।”

ग्रामिण क्षेत्रसम्म विकासको गतिबिधि बढ्नु, नागरिकलाई स्वतन्त्रताको अधिकार र गलत गर्ने जो कोहीलाई पनि छुट नहुने अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुन्दर पक्ष भएको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा नेकपा एमालेबाट वि.स. २०४९ सालमा तत्कालीन अर्मन गाविसको उपाध्यक्षमा निर्वाचित दिलबहादुर छन्त्यालको नेतृत्वमा २५ जना माओवादीमा प्रवेश गर्नुभएको माओवादीका बेनी नगर कमिटिका उपाध्यक्ष तथा बेनी नगरपालिका ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बताउनुभयो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र (क)का संयोजक कुशल पौडेलले ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ तीन महिनासम्म सञ्चालन हुने अभियानको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

‘माओवादीलाई तल्लो तहका नागरिकसँग जोड्ने अभियानको उद्देश्य हो,’ उहाँले भन्नुभयो ‘राजनीतिक, सामाजिक परिवर्तन देखि माओवादीको अगुवाइमा शुसासन र विकासका लागि भएका कामको जनतालाई बुझाउछौ । नागरिकको सुझाव, समस्या र अपेक्षा बुझ्छौ ।’

सिंगाका माओवादीका कार्यकर्ता विरेन्द्रमान शाक्य र राजु गुरुङले सरकारले सुशासनका पक्षमा गरेका कामलाई निरन्तरता र ठोस निष्कर्षमा पुर्‍याउन नेताहरुलाई सुझाव दिनुभयो ।