करिब ३० बर्ष अघि घर छाडेर हिँडेका चन्द्रबहादुरको घर कहाँ होला म्याग्दीमा ?

  • १६ भाद्र २०८०, शनिबार
  • 715 पटक पढिएको

म्याग्दी, १६ भदौ । करिब ३० बर्ष अघि घर छाडेर हिँडेका म्याग्दीका  चन्द्रबहादुर बुढाथोकी आफ्नो घरपरिवारको खोजीमा छन् । स्याङ्जामा सवारी चलाउने पेशा गर्दै आएर बुटवलमा बसोबास गर्दै आएका ४० बर्षका बुढाथोकी करिब १० बर्षकै उमेरमा घर छाडेर हिँडेका थिए ।


म्याग्दी जिल्ला सम्झना भएको र जन्म घर नजीकै ठूलो पोखरी भएको , बाँसघारी भएको र गाईभैँसी पाल्ने फाँटको बारी भएको मात्रै सम्झने बुढाथोकीले त्यसबाहेक गाउँ र टोल केसैको पनी नाम सम्झना नभएको बताउँछन् । घरमा दाईसंग झगडा हुदा बुबाले कुटपिट गरेपछि आफुले घर छाडेको बताउने बुढाथोकीले १७ बर्ष अघि विवाह समेत गरेका छन् । उनले आफ्नो घरमा बहिनी समेत रहेको बताउँछन् ।


आफुहरुले श्रीमानको घर, ठेगाना र कुलको खोजी गरेपनि केही पत्ता नलागेको चन्द्रबहादुरकी श्रीमती कल्पनाले बताईन् । चन्द्रबहादुरले घरमा ढिँडोको खाना खाने गरेको र बारीको पाटाहरु रहेको सम्झना गरेकाले उनको घर माथिल्लो मगर बस्तीहरुमै रहेको अनुमान गरिएपनि कोही आफन्त सम्पर्कमा आएका छैनन् ।