अन्नपूर्णको समृद्धिका लागि पर्यटन र पूर्वाधार विकास आबश्यक : मन्त्री जुग्जाली (तस्बिर सहित)

  • १५ भाद्र २०८०, शुक्रबार
  • 271 पटक पढिएको

म्याग्दी १५ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले अन्नपूर्ण गाउँपालिकामा पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासले समृद्धि हाँसिल हुने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वांत गाउँमा जनैपूर्णिमा पर्वको अवसरमा न्यू स्टार युवा क्लबद्धारा आयोजित खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई शुक्रवार सम्बोधन गर्दै मन्त्री जुग्जालीले यस्तो बताउनुभएको हो ।

विश्वप्रसिद्ध पुनहिल, नर्थ अन्नपूर्ण आधार शिविरका साथै खोप्रा, मोहरेडाँडा, विभिन्न तातोपानी कुण्ड र झरनाहरु रहेको अन्नपूर्ण गाउँपालिकामा पर्यटन मार्फत समृद्धि हाँसिल गर्न सकिने भएकाले त्यसका लागि आबश्यक पर्ने पूर्वाधार र प्रवद्र्धन गर्नुपर्ने आबश्यकता औँल्याउनुभयो । भौगोलिक रुपमा कठिन भूगोलहरु समेत रहेको यस गाउँपालिकामा पदमार्ग, होटल सुविधाको विस्तार, सडक सञ्जालको पहुच विस्तार संगै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । घोडेपानी र खोप्रालाई जोड्ने पदमार्गले समेटिएको स्वांत गाउँलाई कृषि पर्यटन गाउँका रुपमा समेत विकास गर्न सकिने उहाँको भनाई छ ।

‘‘पर्यटनमा यो गाउँ विस्तारै अगाडी बढ्दै छ, होटलहरु पनि खुल्न थालेका रहेछन्, अब कृषि र उद्यमशिलतालाई पनि जोड्नुपर्छ, सिंगो गाउँलाई नै पर्यटनमा जोड्न सके गाउँमै स्वरोजगार सिर्जना हुनुको साथै रोजगारका अवसर सिर्जना हुनेछन्’’–मन्त्री जुग्जालीले भन्नुभयो । उहाँले स्वाँतका स्थानीयबासीको मौलिक कला र संस्कृति समेत पर्यटन विकासको थप आधार रहेको बताउनुभयो । उहाँले स्वाँत गाउँको सडक स्तरोन्नती तथा स्वाँतखोला पुलको पहिरो रोकथाममा आबश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

मन्त्री जुग्जालीले कास्कीको बिरेठाँटी र म्याग्दीको घोरेपानीलाई सडक सञ्जालले जोड्ने योजनालाई समेत प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले पोखरेबगर–घार–चित्रे सडक अन्तरगत पोखरेबगरदेखि माथिको घुम्तीमा पहिरोले सडक भत्काएर जोखिम बढाएको ठाउँमा मर्मत गरि सुरक्षित सडक बनाउन सम्बन्धित निर्माण व्यवसायि र कार्यालयसंग समन्वय गर्ने बताउनुभयो । उहाँले पर्यटन र जलविद्युत क्षेत्रको विकासले अन्नपूर्ण गाउँपालिका विकास र समृद्धिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले गण्डकी प्रदेश सरकार मार्फत सडक स्तरोन्नती, खानेपानीको पहुच विस्तार, पर्यटन पूर्वाधार लगायतको क्षेत्रमा प्राथमिकताका साथ बजेट भित्र्याउने काम भैरहेको बताउनुभयो । यसअघिका बर्षको तुलनामा यसपाली प्रदेश सरकारबाट म्याग्दीमा बजेट बढी आएको र त्यसको कार्यान्वयन भएमा जनतामा विकासप्रति भरोसा बढ्ने बताउनुभयो । उहाँले अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ को स्वाँत फलाटे सडक निर्माणका लागि गत वर्ष रु. ३५ लाख बिनियोजन गरेको उहाँले बताउनुुभयो । चालु आर्थिक वर्षमा पोखरेबगर पाउद्धार किन्दु स्वाँत सडकलाई रु. असी लाख, शिखमा आवासीय विद्यालयको पूर्वाधारका लागि रु. पचास लाख, तल्लो र उपल्लो गाउँको खानेपानीका लागि रु. दश÷दश लाख, खोपारामा पर्यटन पूर्वाधारका लागि रु. बीस लाख बिनियोजन भएको सांसद भण्डारीले बताउनुुभयो ।

शिख माविको होस्टल व्यवस्थापन गर्न रु. आठ लाख बिनियोजन भएको उहाँले बताउनुुभयो । उक्त अवसरमा स्वाँत गाउँको रिङरोड सडक, कृषि भवन, क्लब भवन र मोटरेवल पुलको समेत उद्घाटन गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।