गुर्जामा स्याउखेतीको परीक्षण सफल, दुई वर्षअघि इटलीबाट ल्याएको बिरुवामा फल लागे

  • १५ भाद्र २०८०, शुक्रबार
  • 471 पटक पढिएको

म्याग्दी १५ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए ।  गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । ‘परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो,’ उनले भने, ‘सबै बोटमा फल लागेको छ ।’ गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार सात सय मिटर छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर घेराबार गरी स्याउको बगैँचा बनाएको थियो । नाइलीबाङमा २६ कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका हुन् । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती गरिएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८/७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियो ।