मंगलामा माओवादीको तीन महिने अभियान संचालनका लागि कार्ययोजना निर्माण

  • १४ भाद्र २०८०, बिहीबार
  • 345 पटक पढिएको

 

म्याग्दी, १४ भदौ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटिले बुधबार विस्तारित बैठकमार्फत कार्ययोजना निर्माण गरेको छ ।

मंगला गाउँपालिकाको बावियाँचौरमा भएको विस्तारित बैठकमा भदौ १६ गतेदेखि देशैभरीका सबै वडाबाट सुरु हुने तीन महिने अभियानलाई वडावडामा कार्यान्वयनका लागि नेताहरुलाई जिम्मेवारी तोक्दै बैठक सम्पन्न भएको हो ।

माओवादी केन्द्रका मंगला गाउँपालिका कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा मालिका र धौलागिरीका पार्टी इन्चार्ज चन्द्रबहादुर बुढा, मंगला गाउँपालिकाका इन्चार्ज निलबहादुर पुन, भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री एवम् पार्टीका जिल्ला संयोजक रेशम जुग्जाली, प्रदेश कमिटि सदस्य चन्द्रप्रसाद बुढाथोकी, जेष्ठ नागरिक मञ्च प्रदेशका सदस्य भिमबहादुर बानियाँ, यामकुमारी पुन, पार्टीका सल्लाहकार खड्क बहादुर पुर्जा, पूर्व सभासद गमबहादुर श्रीस लगायतको उपस्थितमा माओवादी पार्टीले गरेका काम, गतिबिधि, योजना र राजनीतिक उपलब्धीका बारेमा नागरिकलाई बुुझाउने तथा नागरिकका समस्या सम्बोधनका लागि पहल गर्ने उद्देश्य लक्षित गर्दै कार्यकर्तामा प्रशिक्षण तथा छलफल भएको थियो ।

विस्तारित बैठकले अभियान मार्फत समसामयिक राजनीतिक अवस्था र माओवादीको योजनाका विषयमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण, अन्तरक्रिया, जनवर्गीय संगठनको भेला, बैठक, सम्मेलन गर्ने योजना निर्माण गरेको पार्टीका जिल्ला सदस्य पृथिलाल विकले बताउनुभयो । बैठकमा विभिन्न पाटी परित्याग गरि माओवादीमा प्रवेश गर्नेलाई माओवादीका नेताहरु स्वागत गर्नुभएको थियो ।