धार्मिक पर्यटकीयस्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फोटोफिचर)

  • ११ भाद्र २०८०, सोमबार
  • 239 पटक पढिएको

म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधाममा सोमबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ ।
जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याई मन्दिरको स्थापना गरेको किम्बदन्ती रहेको समितिका निलकण्ठ शर्मा बताउनुभयो । सोही समयदेखि नै गाजनेमा घरपालुवा कुखुरा, संगुर, बंगुर तथा अवैध घरेलु मदिरा उत्पादनमा गाइएको रोक अहिलेसम्म पनि कायम रहेको छ । आजभन्दा ५ सय २० वर्ष पुरानो जगन्नाथधाम (मन्दिर) भित्र भगवान् जगन्नाथ, डिम्ब महाराज, गणेश, राम, लक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहु लगायतका मूर्तिहरु रहेका छन् । मन्दिरमा दैनिक रुपमा नित्य पुजाआजा हुँदै आएको छ ।
कार्यक्रमका अतिथिहरु, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी, सर्वसाधारण लगायतले जगन्नाथको रथयात्रा भजनकीर्तनसहित मन्दिर परिसरमा परिक्रमा गराइएको थियो । श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी भगवान् जगन्नाथको पनि दर्शन गर्नेे प्रचलन कायम गरिएको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव शिर्माले जानकारी दिनुभयो ।
भगवान् जगन्नाथको रथयात्राको कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योती लामिछानेले नगर क्षेत्रभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा नगर लागेको बताउनुभयो । उहाँले जगन्नाथ मन्दिरको महत्व ऐतिहासिक रहेको भन्दै नगरपालिकामार्फत मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । बेनी नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जगन्नाथको विकासका लागि नगरपालिकाबाट प्राथमिकता दिइएको बताउनुभयो ।
कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र जनकल्याण मावि पुलाचौरका अध्यक्ष गोपाल बानियाँले जगन्नाथको विकासमा जोड दिनुभयो । कार्यक्रमको अवसरमा विव्यस अध्यक्ष बानियाँले आफ्ना छोरा डायमन्ड बानियाँले युकेबाट पठाएको नगद ६० हजार रुपैयाँ मन्दिरको व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।
यसैगरी स्थानीय व्यक्तित्व राजेन्द्र बानियाँले जगन्नाथ मन्दिरमा एकलाख रुपैयाँ बराबरको घण्टी चढाउने घोषणा गर्नुभएको छ । रथयात्रा कार्यक्रममा पण्डित दण्डपाणि शर्माले स्वस्तीवाचनसहित प्रवचन सुनाउनुभएको थियो । सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा कुल ४३ पाथी चामलको खिर पकाइएको थियो भने जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए । रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पुजा गर्न साविक धौलागिरि अञ्चलसहित विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरु गाजने पुगेका थिए ।
जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता, सचिव निलकण्ठ शर्माले प्रगति प्रतिवेदन प्रस्तुत र मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले स्वागत गर्नुभएको औपचारिक कार्यक्रमको जनकल्याण माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शिव बानियाँले सञ्चालन गर्नुभएको थियो ।  जगन्नाथ मन्दिर परिसरको सरसफाई सिटिजन्स लाईफ इन्सुरेन्सका म्याग्दीका सदस्यहरुले गर्नुभएको थियो ।