पर्यटन मार्फत आम्दानी गर्दै अन्नपूर्ण गाउँपालिका

  • ८ भाद्र २०८०, शुक्रबार
  • 333 पटक पढिएको

बेनी, ८ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु १ करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीय स्थल भुरुङ तातापानी, पाउद्धार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानी लगायतका पर्यटकीय स्थलमा सञ्चालित होटलहरुबाट व्यवसाय कर संकलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
यस बर्ष गाउँपालिकाले वडा नम्बर ६ मा अवस्थित चर्चित पर्यटकीय स्थल पुनहिललाई रु ६३ लाख ११ हजार, वडा नम्बर २ को भुरुङ तातोपानीकुण्डलाई रु ५५ लाख ९ सय र वडा नम्बर ५ को पाउद्धार तातोपानी कुण्डलाई रु २० लाख १९ हजार ५ सयमा आय ठेक्का सम्झौता गरेको छ ।

प्रतिस्पर्धा मार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माईलादाई होटल एण्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रा.लि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचन संग अग्रिम रुपमा रकम जम्मा गरेको कारण कार्यविधि अनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बतानुभयो ।

‘‘ पर्यटकीय स्थलहरुमा प्रवेश शुल्क , कफिसफ तथा रेष्टुरेन्ट सञ्चालन गर्न एक बर्षको लागि अनुमति सहित आय ठेक्का सम्झौता गरेका छौँ, रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काको लागि बोलपत्र आह्वान गरेका थियौँ, तर कसैको पनि टेन्डर नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छाँै’’–प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई बार्षिक रुपमा व्यवसाय करबापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरे बापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोला लगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफिसफबाट समेत व्यवसाय कर संकलन गर्दै आएको छ ।

चालु आर्थिक बर्षमा रु १ करोड ४७ लाख आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले बर्षको सुरुवातमा नै लक्ष्य नजिकको राजश्व संकलन गरिसकेको छ । गत आर्थिक बर्षमा रु १ करोड ४५ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी रु १ करोड ६१ लाख राजश्व संकलन गरेको थियो ।

घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नम्बर–४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको पूर्वाधार विकास, प्रचार प्रसार र प्रवद्र्धन गर्दै स्थानीयबासीको जिवनस्तर सुधार संगै गाउँपालिकाको आन्तरिक राजश्व बढाउनतर्फ जोड दिईएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।