बेनी–जोमसोम सडक खण्डमा नारच्याङदेखि दाना जोड्ने बैकल्पिक मार्गको माग

  • ५ भाद्र २०८०, मंगलवार
  • कमल खत्री
  • 333 पटक पढिएको

 

 

कमल खत्री
बेनी, ५ भदौ : बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले बैकल्पिक सडकको माग गरेका छन् । अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।


पहिरो ग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरि कालीगण्डकी नदीमा बेलिब्रिज बनाएर बैकल्पिक मार्ग सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाहरुले माग गरेका हुन् । अहिले बेनी–जोमसोम सडकका सवारी साधनहरु बेनीबाट नारच्याङ गाउँ हुँदै घरापमा पुगेर रोकिने गरेका छन् ।


यस अघि नै घरापदेखि गाडपार हुँदै कोप्चेपानीसम्म सडकको ट्याक खनिएकाले सडकको मर्मत गरि कालीगण्डकी नदीमा बेलिब्रिज बनाउन सकेमा दानाको पहिरोग्रस्त जोखिमयुक्त ठाउँको बैकल्पिक मार्ग तयार हुने जिल्ला समन्वय समितिका निवर्तमान सदस्य समेत रहनुभएका गाडपारका अगुवा मेखबहादुर गर्वुजाले जानकारी दिनुभयो ।


दानाको गुँइठे, सुकेबगर, जलथले, खामभिक्ता, लगायतका क्षेत्रमा पहिरोले कालीगण्डकीको नदी तीरबाटै बेस समेत बगाउन थालेपछि बेनी–सोमसोम सडकमा एक सातादेखि सिधा यातायात अबरुद्ध बनेको छ । दानाको ठाँटीटोल र गाडपार जोड्ने बेलिब्रिजको लागि दुबैतर्फको भुगोल समेत पक्को रहेकाले पहिरोको दिर्घकालिन रोकथाम नहुँदा सम्म बैकल्पिक सडकले राहत दिने गर्बुजाले बताउनुभयो ।


‘‘हामीले पटक–पटक बेलिब्रिज बनाउन माग गर्दै आएका छाँै, गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पनि ध्यानकर्षण गराएका छौँ, कम्तीमा बेनी–जोमसोम सडकखण्डका विभिन्न ठाउँमा रहेका बेलिब्रिजलाई यहाँ स्थानान्तरण गर्न सके अहिले यात्रुहरुले भोग्दै आएको सास्ती हट्ने थियो’’–गर्वुजाले भन्नुभयो ।


दाना क्षेत्रको विभिन्न ठाउँमा खसेको पहिरोले सडकमा ठूलो क्षति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । यस सडक आयोजना अन्तरगत अहिले बेनीदेखि नारच्याङपुल सम्म र दानादेखि जोमसोम खण्डको सडक मात्रै सूचारु रहेको छ ।


सडक अवरुद्ध भएपछि घाँसादेखि नारच्याङको घराप सम्मनै सर्वसाधारण र पर्यटकहरुले पैदल हिँडेर आवत जावत गर्नुपरेको छ । विदेशी पर्यटक र तिर्थयात्रीहरुले हिलोमा जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता आएको छ ।

 

सडकखण्डका बिचमा पर्ने दाना क्षेत्रमा मात्रै दर्जनौ ठाउँमा पहिराले सडक अवरुद्ध बनेको र मर्मत गरि सूचारु गराउने प्रयास जारी रहेको सुपरभाइजर शेरचनले बताउनुभयो । कालीगण्डकीको तीरदेखी नै सडकको बेस भत्किएकाले सडक मर्मत गरि सुचारु गराउन समस्या भएको छ ।


सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानामा खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सामाग्रीको ढुवानीमा समेत समस्या भएको छ भने विरामीहरुलाई समेत अस्पताल जान सकस भएको छ ।      

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l