पहिरोले सुवा गाउँमा उठिबास, १० घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण( फोटो फिचर )

  • ४ भाद्र २०८०, सोमबार
  • 338 पटक पढिएको

कमल खत्री
बेनी, ४ भदौ ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले उठिबास लगाएको छ । साउन ३२ गते रातीको अविरल बर्षाले गाउँको शीर र पुछारको कालीगण्डकी नदीतीरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँमा पहिरोले स्थानीयबासीको उठिबास लगाएको हो ।
पहिरोले सुवा गाउँमा एक घर पूर्ण रुपमा क्षति भएको छ । स्थानीय सतविर पाईजाको घर माथिबाट आएको पहिरोले घरमा पूर्ण रुपमा क्षति पु¥याएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिरोले ८ घर उच्च जोखिममा छन भने थप १० घरधुरी समेत पहिरोको जोखिममा रहेका छन् ।
दानाको सुवा संगै पुलिबाङ,फगाम, कमेरेडाँडा, तितर लगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ । सुवा गाउँको शीर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्क विच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो । पहिरोको चपेटामा परेका स्थानीयबासीलाई सुरक्षित स्थानमा बसोबासका लागि आवत जावन गर्न आइतवार दानाका स्थानीयले पहिरो पन्छाएर अस्थायी बाटो बनाएका छन् ।
पहिरोले उच्च जोखिममा रहेका १० घरपरिवारलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा लगेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आइतवार सशस्त्र प्रहरी बल नेपाल, आश्रीत गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोबासको पूर्वाधार निर्माण गरेका छन् ।
पहिरोको उच्च जोखिममा रहेका १० घरपरिवारका ४० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, सुवा लगायत दानाका विभिन्न ठाउँमा पहिरोको जोखिममा परेका स्थानीयबासीलाई गाउँपालिकाले त्रिपाल, टेन्ट, खानेपानीको पाईप लगायतका अत्यावश्यक सामाग्री समेत वितरण गरेको छ ।
पहिरोको चपेटामा परेको सुवा गाउँको पहिरोको जोखिमको अवस्थाबारे आइतवार गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारी, गाउँपालिकाका उपाध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष रमेश पुर्जा, सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामी लगायतको टोलीले स्थलगत निरिक्षण गर्नुभएको छ । गाउँको पुछार र शिरानबाट नै पहिरो गएकाले तत्काल रोकथाम गर्न सम्भव नदेखिएकाले स्थानीयबासीलाई सुरक्षित स्थानमा राखेर खाना र बसोबासको प्रवन्ध मिलाउने काममा गाउँपालिकाले ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
अहिले सुवामा सुकेबगर र द्धवारीखोलाबाट गाउँ जोड्ने पदमार्ग अधिकाँश पहिरोले बगाएको छ । पहिरोले गाउँको सम्पर्क विच्छेद गराएको र धेरै घरहरु जोखिममा रहेको देखिएको स्थलगत निरिक्षणमा पुग्नुभएका प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो । उहाँले पहिरोबाट घरबार विहिन भएकाहरुको स्थायी पुर्नस्थापना र तत्कालको लागि सहज बसोबासको आवश्यक प्रवन्ध मिलाउने काममा प्रदेश सरकारमा समेत आबश्यक पहल गर्ने जानकारी दिनुभयो । (तस्बिर उपलब्ध छ)