बजेट विनियोजन रोकिएपछि सामुदायिक भवन अलपत्र

  • २ भाद्र २०८०, शनिबार
  • 307 पटक पढिएको

बेनी, २ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ नम्बर वडामा दुई सामुदायिक भवन अलपत्र परेका छन् । भर्जुलाको गोदावारी आमा समूह र थाईबाङको न्यू लालीगुराँस युवा क्लबको एकिकृत सामुदायिक भवन अलपत्र परेका हुन् । सरकारी तवरवाट बजेट विनियोजन हुन रोकिएपछि दुबै भवन अलपत्र अवस्थामा छन् ।
वि.स. २०७२ सालदेखि भवन निर्माण सुरु भएको गोदावारी आमा सभूहको भवनले अझै पूर्णता पाएको छैन । भवन तत्कालिन समयमा सरकारी तवरबाट विनियोजन भएको रु ६ लाख बजेटबाट भवन बनाउन सुरु गरेका आमा समूहले ऋण र सरसापट समेत गरेर भवनलाई अघि बढाउन खोजेपनि बजेट अभाबले भवनले अझै पूर्णता पाउन नसकेको आमा समूहका अध्यक्ष यामकुमारी पुनले बताउनुभयो ।
उहाँका अनुसार, २०७५ सालमा आमा समूहले चन्दा सहयोग र ऋण खोजेर रु १२ लाख जुटाएका थिए । भवनलाई पूर्णता दिन मंगला गाउँपालिकाले २०७६ सालमा रु ५ लाख र २०७७ सालमा रु ३ लाख बजेट विनियोज गरेका थिए । गाउँपालिका र समूहले जुटाएको समेत गरि रु २० लाखबाट भवनको ढलान र दोस्रो तलाको पर्खाल उठाउने काम भएको छ।
आमा समूहका तत्कालिन कोषाध्यक्ष केसकुमारी पाईजाले १ रोपनी, ३ आना, ३ दाम बराबरको जग्गा निःशूल्क रुपमा उपलब्ध गराएपछि समूहको भवन निर्माण गर्न सूरु भएको थियो । ‘‘गाउँको सामुदायिक भवनकै रुपमा बनाउन सुरु गरेका थियौँ, सरकारी तवरवाट बनाउन सुरु भएको भवनलाई उपेक्षा गरेको कारण अलपत्र परको छ, गाउँपालिकादेखि प्रदेश सरकार सम्मलाई गुहार्दै आएका छौँ’’–अध्यक्ष पुनले भन्नुभयो ।
बर्षौदेखि भवनको दोस्रो तला ढलान हुन सकेको छैन् । दोस्रो तलाको झ्याल र ढोका पानीले कुहिन थालेका छन् । भवनभित्र पानि जोगाउन त्रिपाल टाँगिएको छ । आमा समूहले गाउँमा छोराको बिवाहमा रत्यौली गाउने र छोरीको विवाहमा बाटो छेक्ने, लाहुरे स्वागत लगायतकाट संकलन भएको सबै रकम भवन निर्माणमै लगानी गर्दा समेत ऋण लागेको रकम अझै पूर्ति गर्न सकेका छैनन् ।
यसै वडाको थाईबाङमा समेत गाउँपालिकाले सुरु गरेको ‘एक बस्ती एक एकिकृत भवन र खेलमैदान ’ अन्तरगत निर्माणधिन एकिकृत सामुदायिक भवन र खेलमैदान योजना अलपत्र छ । ५ बर्षअघि गाउँपालिकाले निर्माण सुरु गरेको यस एकिकृत सामुदायिक भवन पहिलो तला ढलान भएपछि कुनै काम भएको छैन् । एकै ठाउँमा एकिकृत सामुदायिक भवन र खेलमैदान बनाउन गाउँपालिकाले तीन बर्षसम्म क्रमागत योजनाको रुपमा बजेट विनियोजन गरेपनि त्यसयता बजेट नआएको कारण अलपत्र परेको क्लबका सचिब बलिभद्र गौतमले जानकारी दिनुभयो ।
गाउँपालिकाले व्यक्तिको स्वामित्वमा रहेको जग्गा पास भएर नआएपछि उक्त योजनामा बजेट विनियोजन गर्न छाडेको जनाएको छ । क्लबका पूर्व अध्यक्ष हाल पार्तुगलमा रहनुभएका मोहन कुमार पाईजाले खेलमैदान र भवनका लागि आबश्यक पर्ने जग्गा निःशुल्क प्रदान गर्ने घोषणा गर्नुभएको थियो । जग्गाको बर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने नियम लागू भएपछि गाउँपालिकाले जग्गा कित्ताकाट खुलाउन नसक्दा पाईजाको नाममा रहेको जग्गा क्लबको स्वामित्वमा आउन नसकेको क्लबले जनाएको छ ।
अहिले भवन र खेलमैदानले पूर्णता नपाउँदा अलपत्र बनेका छन भने योजना परिसरमा पहिरोको जोखिम समेत बढेको छ । भवनको करिब ७० प्रतिशत र खेलमैदानको ४० प्रतिशत मात्रै काम पुरा भएको छ । अहिले अलपत्र बनेको एकिकृत सामुदायिक भवन बनाउने योजनामा तत्कालिन प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा रु पाँच लाख र गाउँपालिकाबाट २६ लाख ६२ हजार लगानी भएको छ भने खेलमैदानमा गाउँपालिकाले रु १३ लाख लगानी गरेको छ ।


सरकारी तवरबाट बजेट रोकिएपछि यस बर्ष क्लबको आन्तरिक स्रोतबाट रु दुई लाख ६८ हजार खर्च गरेर पर्खाल र ग्याविन जाली लगाउने काम गरिएको क्लब सचिब गौतमले जानकारी दिनुभयो । व्यक्तिगत स्वामित्वमा रहेका जग्गामा सार्वजनिक पूर्वाधार बनाउँदा गरिने लगानीमाथि अख्तियार लगायतका निकायबाट ताकेता हुन थालेपछि गाउँपालिकाले बजेट विनियोजन नगरेको र क्लब र आमा समूहको स्वामित्वमा आउनेवित्तिकै अलपत्र योजनालाई पूर्णता दिने मंगला गाउँपालिका–१ का वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो ।
गाउँकार्यपालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष रोकाले जग्गादाताले समेत जग्गा पास दिन खोजेपनि किक्ताकाट नखोल्दा समस्या भएको बताउनुभयो । ‘‘जग्गादाता युरोपतीर हुनुहुन्छ, उहाँ गृहगाउँ आएको समयमा जग्गा पास दिन खोजिरहनुभएको थियो, तर यता जग्गा बर्गीकरण नगरिकता जग्गा कित्ताकाट गर्न बन्द भएको थियो, गाउँपालिकाले जग्गाको बर्गीकरणको लागि आबश्यक बजेट विनियोजन गरेर आबश्यक प्रकृया अघि बढाउन लागेको छ, अब छिट्टै क्लब वा आमा समूहको स्वामित्वमा जग्गा आउँछ, त्यसपछि हामीले अलपत्र भवन र खेलमैदानलाई अघि बढाउँछौँ’’–वडा अध्यक्ष रोकाले भन्नुभयो ।