पुलह पुलत्स्य अन्न क्षेत्रको अध्यक्षमा ज्ञानेन्द्र सुवेदी चयन

  • १ भाद्र २०८०, शुक्रबार
  • 367 पटक पढिएको

 

बेनी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुहल पुलत्स्य अन्न क्षेत्रको कार्यसमितिले एक वर्षपछि नेतृत्व पाएको छ ।

एक वर्षदेखि नेतृत्व विहिन क्षेत्रको गत जेठमा बोलाइएको अधिवेशनबाट पनि नेतृत्व चयन हुन सकेको थिएन् । गलेश्वरमा शुक्रबार भएको अधिवेशनबाट ज्ञानेन्द्रप्रसाद सुवेदीको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सागरजिवी उपाध्यायको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले सर्वसहमतिमा घोषणा गरेको कार्यसमितिको उपाध्यक्षमा यामबहादुर खत्री, सचिवमा ताराप्रसाद आचार्य, कोषाध्यक्षमा लोकेन्द्र खड्का चयन हुनुभएको छ ।

सदस्यहरुमा भिमबहादुर खत्री, प्रकाश खत्री र अनिता कार्की रहनुभएको छ । २ जना सदस्य गलेश्वर शिवालय क्षेत्र विकास कोषको सिफारिसमा चयन हुने भएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको प्रमुख आतिथ्यता र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रबार कार्यसमितिको पदभार ग्रहण गराइएको थियो ।

अन्नक्षेत्रले गलेश्वर जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकहरु र तिर्थयात्रीहरुलाई निशूल्क भोजनको व्यवस्था मिलाउदै आएको छ । दाताहरुबाट धान, चामल, दाल संकलन गरेर तिर्थयात्री र जेष्ठ नागरिकलाई निशूल्क भोजन गराउदै आएको संस्थाको बिवाद उजुरी गर्ने तहसम्म पुगेपछि नेतृत्व विहिन हुन पुगेको थियो ।