साउन महिनामा गलेश्वरधाम मन्दिरबाट नौं लाख बढी भेटी संकलन

  • ३० श्रावण २०८०, मंगलवार
  • धिरन खत्री
  • 349 पटक पढिएको

 

म्याग्द, ३० साउन । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा नौं लाख २७ हजार २३ रुपैयाँ भेटी संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जानकारी दिएको छ। पहिलो सोमबार बाहेक अन्य सोमबार मलमासको कारणले विगतको बर्षभन्दा दर्शन गर्ने भक्तजन कम आएका हुन् ।


पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, दोस्रो सोमबार ९६ हजार १४१, तेस्रो सोमबार १ लाख ४१ हजार ९५६, चौथो सोमबार १ लाख ४४ हजार ७९१ र पाँचौ सोमबार १ लाख ७८ हजार ४९० रुपैयाँ भेटी संकलन भएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । सरोकारवालाहरुको उपस्थितिमा भेटी रकम गणना गरि सार्वजनिक गरिन्छ । कोषले मन्दिरमा भक्तजन र सहयोगदाताबाट संकलन हुँदै आएको भेटी र सहयोग रकमलाई गणना गरेर बैँकमा जम्मा गर्दै आएको छ ।

साउन महिनामा गलेश्वर मन्दिरमा करिव ८० हजार जना भक्तजनले दर्शन गर्नुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो । “साउन महिनाको पाँच वटा सोमबार दर्शन गर्ने भक्तजनको मन्दिरमा भिड थियो, भगवान् शिवको पूजा आराधना गर्नका लागि गलेश्वरधाममा म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट भक्तजनहरु आउनुभएको थियो,” – अध्यक्ष रेग्मीले भन्नुभयो ।

साउन महिनाको सोमबार भगवान शिवको पुजाआराधाना गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ । शालीग्राम शिला पाईने एक मात्रै कालीगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको छ । गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारीक सुख, शान्ति, ऐश्वर्य प्राप्ती हुने धार्मीक विश्वास रहेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l