गलेश्वरधाम आमा समूहद्धारा व्यावसायिक फेन्सी चप्पल उत्पादन

  • ३० श्रावण २०८०, मंगलवार
  • 419 पटक पढिएको

बेनी, ३१ साउन :  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहले फेन्सी चप्पलको व्यावसायिक उत्पादन सुरु गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसंग उपमेयर’ कार्यक्रम अन्तरगत १५ दिने तालिम लिएका आमा समूहमा आबद्ध महिलाहरुले व्यावसायिक रुपमा फेन्सी चप्पल उत्पादन गर्न सूरु गरेका हुन् ।
पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलाहरुलाई पुनः आमा समूहकै पहलमा थप १५ दिने तालिम दिएपछि आमा समूहमा आबद्ध महिलाहरुले व्यावसायिक चप्पल उत्पादन सुरु गरेको समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार, आमा समूहकै भवनमा महिलाहरुले चप्पल उत्पादन गर्न थालेका छन् ।
बजारमा बाहिरबाट आयात गरेका चप्पलहरुको खरिदविक्रि हुदै आएकोमा आमा समूहले नै व्यावसायिक रुपमा चप्पलको उत्पादन सूरु गरेपछि स्थानीय बजारमा स्थानीय उत्पादनकै सामाग्रीको उपलब्धता गराउने योजना रहेको समूहका सचिब निसा जिसीले जानकारी दिनुभयो । फेन्सी चप्पलको माग बढी हुने भएकाले व्यावसायिक रुपमा उत्पादन सुरु गरिएको चप्पल बनाउने व्यवसायबाट महिलाहरुको आयआर्जनमा समेत टेवा पुग्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
महिलाहरुले फेन्सी चप्पलको सामुहिक रुपमा बनाउन सुरु गरेको उद्योगको सोमबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सूभारम्भ गर्नुभएको छ । कार्यक्रममा प्रजिअ पौडेल, बेनी नगरपालिकाका मेयर सुरत केसी र वडा अध्यक्ष चक्रबहादुर केसीले स्थानीय बजारमा स्थानीय उत्पादनकै सामाग्रीको उपलब्धता गराउन सकेमा यसले महिलाहरुको उद्यमशिलताको प्रवद्र्धन गर्नेमा जोड दिनुभयो ।
उद्घाटनको अवसरमा गलेश्वर मन्दिर परिसरमा शनिवार राखिएको घुम्ती स्टलबाट ५९ जोर चप्पलको विक्रि समेत भएको समूहले जनाएको छ । आमा समूहले उत्पादन गरेका फेन्सी चप्पलको गलेश्वरमा विक्रि कक्ष समेत सञ्चालन गर्ने योजना बनाएको समूहका अध्यक्ष फुलकुमारी रोकाले जानकारी दिनुभयो ।