प्रचारप्रसार र पूर्वाधारको अभावमा पर्यटकीयस्थल गाम्फाधुरी ओझेलमा

  • २८ श्रावण २०८०, आईतवार
  • धिरन खत्री
  • 455 पटक पढिएको

 

म्याग्दी, २८ साउन। पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसार र पूर्वाधारको अभावले म्याग्दी र बागलुङको सिमानामा पर्ने गाम्फाधुरी ओझेलमा परेको छ । समुन्द्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित गाम्फाधुरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको गन्तव्य हो ।

मंगला गाउँपालिकाको वडानम्वर ४ स्थित बंरजा बुकेनीबाट चारघण्टाको पैदलयात्राबाट पुगिने महत्वपूर्ण पर्यटकीयस्थल ‘गाम्फाधुरी’ सडक, पदमार्ग, लगायत पूर्वाधारको अभावले ओझेलमा परेको बुकेनीका युवा डिवि रोका मगरले बताउनुभयो ।

“रमणीयस्थल यस क्षेत्रमा पर्यटन विकासका पूर्वाधार तयारमा तीन तहका सरकारले ध्यान नदिदाँ पर्यटन प्रवद्र्धन हुन सकेको छैन, यहाँबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण लगायतका हिमालहरु देख्न सकिन्छ”,– उहाँले भन्नुभयो ।

“हिमशृंखलासंगै म्याग्दी र बागलुङको दर्जनौ ग्रामिण बस्ती र पहाडी भू–भाग अवलोकन गर्न पाईन्छ, प्राचिनकालमा प्रभु बसेको घरका भग्नासेस, प्रभुले पानी खाने ढुङ्गाको कुवा लगायतका प्राचिन कला यहाँ भेटिन्छ, बुकेनी र धापुङका स्थानीय मिलेर बेलाबेलामा घुम्न, पिकनिक खान गएपनि पूर्वाधारको अभावले पर्यटकको आगमन बढ्न सकेको छ्रैन् ।”

पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, सडक नपुग्नु, प्रचारप्रसारको कमीले यस क्षेत्र ओझेलमा परेको स्थानीय युवा डिवि रोकामगरले थप्नुभयो । “पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।”


त्यस्तै मंगला गाउँपालिका वडानम्वर ४ का वडाअध्यक्ष लालबहादुर रोकाले गाउँपालिकाको अग्लोे पर्यटन स्थलको रुपमा चिनिएको गाम्फाधुरीको पर्यटन विकासका लागि स्थानीय युवाले पूर्वाधार निर्माण बजेट विनियोज गर्न आग्रह गर्नुभएको उल्लेख गर्दै यस क्षेत्रको पर्यटन विकास लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सडक, पुराना सम्पदाको संरक्षणको काम गर्ने बताउनुभएको छ।

आगामी बर्षमा सडक, पदमार्ग निर्माणमा पालिका र प्रदेश सरकारसंग बजेट विनियोजनमा पहल गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l